धनगढी: काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानले बोर्डिङ पास लिइसकेका नौ जना यात्रुलाई काठमाडौंमै छोडेपछि यात्रुहरू आक्रोशित भएका छन्। मंगलबार बिहान ११ बजे धनगढीका लागि उडान तालिका रहेको श्री एयरलाइन्सको विमान करिब चार घण्टा ढिलो गरी दिउँसो २ बजेर ५० मिनेटमा काठमाडौं विमानस्थलबाट धनगढीतर्फ उडेको थियो। तर, लामो समयदेखि उडानको प्रतीक्षामा रहेका नौ जना यात्रुलाई जानकारी नै नदिई विमान उडेको यात्रुहरूको आरोप छ।
धनगढी आउनका लागि बोर्डिङ पास लिएर विमानस्थलमा प्रतीक्षा गरिरहेका यात्रुलाई उडानका सम्बन्धमा स्पष्ट सूचना नदिइएको यात्रु बाबुराजा श्रेष्ठले बताए। ‘हाम्रो उडान बिहान ११ बजे थियो। लामो समयसम्म विमान उड्ने कुनै सूचना नआएपछि हामी विमानस्थलमै पर्खेर बसेका थियौँ,’ श्रेष्ठले भने, ‘पछि २ बजेर ५० मिनेटमा विमान धनगढीका लागि उडिसकेको थाहा पायौँ। हामी उडानकै पर्खाइमा थियौँ, तर कुनै जानकारी नदिई विमान उडाइएपछि हामीसहित नौ जना यात्रु काठमाडौंमै अलपत्र परेका छौँ।’
श्रेष्ठका अनुसार विमानस्थलमा आफूहरूसहित नौ जना यात्रु छुटेका छन्। छुटेका यात्रुमध्ये एक जना ह्वीलचेयर प्रयोग गर्ने बिरामीसमेत रहेको उनले बताए। ‘म मात्रै होइन, ह्वीलचेयरमा रहेका बिरामीलाई समेत छोडेर विमान उडेको छ,’ श्रेष्ठले भने, ‘यात्रु बोर्डिङ पास लिएर उडानको प्रतीक्षामा बसिरहेको अवस्थामा कुनै सूचना नदिई विमान उड्नु गम्भीर लापरबाही हो।’
लामो समयसम्म उडान नहुँदा यात्रुहरू विमानस्थलमै पर्खेर बसेका थिए। विमान ढिलो हुनुका कारणबारे यात्रुहरूलाई जानकारी भए पनि उडानको अन्तिम समय र बोर्डिङका विषयमा स्पष्ट सूचना नपाएको उनीहरूको गुनासो छ। यता, श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्र शाहीले भने विमानस्थलमा अत्यधिक भिडभाड भएका कारण सबै यात्रुले उडानसम्बन्धी सूचना नसुनेको हुनसक्ने बताएका छन्।
शाहीका अनुसार मंगलबार बिहान ११ बजेका लागि निर्धारित श्री एयरलाइन्सको २ सय २३ नम्बरको विमान ढिलो गरी उडेको हो। विमानस्थलमा उडानसम्बन्धी सूचना तथा अनाउन्समेन्ट गरिएको दाबी गर्दै उनले भिडभाड र हतारका कारण केही यात्रुले सूचना थाहा नपाएको हुनसक्ने बताए। ‘११ बजेको २२३ नम्बरको विमान ढिला उडेको हो। अनाउन्स त गरिएकै हुन्छ, नत्र अरू यात्रुले कसरी थाहा पाउँथेरु’ शाहीले भने, ‘तर हतार–हतारमा अनाउन्स गर्दा र विमानस्थलमा भिडभाड भएका कारण सबै यात्रुले सूचना सुन्न नपाएको हुनसक्छ।’
उनले छुटेका यात्रुलाई अर्को विमानमार्फत धनगढी ल्याउने प्रयास भइरहेको जानकारी दिए। यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउन एयरलाइन्सले पहल गरिरहेको उनको भनाइ छ। चार घण्टा लामो प्रतीक्षापछि पनि उडानबारे पर्याप्त सूचना नदिएको र बोर्डिङ पास भएका यात्रुलाई समेत विमानमा नलिई उडान गरिएको भन्दै यात्रुहरूले एयरलाइन्सको सेवा र व्यवस्थापनप्रति प्रश्न उठाएका छन्। विशेषगरी ह्वीलचेयर प्रयोग गर्ने बिरामीसमेत छुटेको घटनाले विमानस्थलमा यात्रु व्यवस्थापन र सूचना प्रवाहको अवस्थामाथि थप प्रश्न उठाएको छ।
उडान ढिलाइ हुँदा यात्रुलाई समयमै जानकारी गराउने, बोर्डिङ प्रक्रिया व्यवस्थित गर्ने र अन्तिम उडानअघि बोर्डिङ पास भएका यात्रु विमानमा चढेको सुनिश्चित गर्ने जिम्मेवारी सम्बन्धित एयरलाइन्स र विमानस्थल व्यवस्थापनको हुन्छ। यस घटनामा भने यात्रुहरूले आफूहरूलाई कुनै प्रभावकारी सूचना नदिइएको बताएका छन् भने एयरलाइन्सले भिडभाडका कारण केही यात्रुले सूचना थाहा नपाएको हुनसक्ने स्पष्टीकरण दिएको छ।

