धनगढी । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका सम्भावनाबारे छलफल तथा अन्तरक्रियासहित धनगढीमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । नाटा सुदूरपश्चिम, होटल व्यवसायी संघ कैलाली र सुदूरपश्चिम प्रदेश होटल संघ नेपालको संयुक्त आयोजनामा धनगढी विमानस्थल परिसरमा वृक्षारोपण गरी विश्व पर्यटन दिवस मनाइएको हो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । मन्त्री रावलसहित पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाले विमानस्थल परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेका थिए । वृक्षारोपणपछि आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासका सम्भावना, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, पर्यटन पूर्वाधार निर्माण तथा प्रदेशमा पर्यटक भित्र्याउन आवश्यक पहलका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री रावलले सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त सम्भावना रहेको बताए । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले प्रदेशमा रहेका पर्यटकीय गन्तव्यलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके पर्यटनलाई प्रदेशको आर्थिक विकासको महत्वपूर्ण आधार बनाउन सकिने उनको धारणा थियो । उनले प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण र प्रचारप्रसारसँगै पर्यटकलाई आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउन सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए । पर्यटन क्षेत्रको विकासले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको बजार विस्तार र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइराला, प्रदेश पर्यटन इकाई प्रमुख डबल बोहरा, नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंह, पूर्वअध्यक्ष माया प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश होटल संघ नेपालका अध्यक्ष प्रकाशचन्द्र भट्ट, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेलगायत पर्यटन व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो । कार्यक्रमका सहभागीले सुदूरपश्चिममा पर्यटनको सम्भावना भए पनि त्यसअनुसार पूर्वाधार, प्रचारप्रसार र पर्यटकमैत्री सेवा विस्तारमा अझै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका धार्मिक, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका गन्तव्यलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनीहरूको धारणा थियो ।
विश्व पर्यटन दिवसका अवसरमा गरिएको वृक्षारोपणले पर्यटन र वातावरण संरक्षणबीचको सम्बन्धलाई समेत उजागर गरेको आयोजकले जनाएको छ । पर्यटकीय गन्तव्यको विकाससँगै वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । सुदूरपश्चिममा खप्तड, शुक्लाफाँटा, अपि–नाम्पा, घोडाघोडी, बडिमालिका, उग्रतारा, मालिकार्जुनलगायतका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्य रहेका छन् । यस्ता गन्तव्यको पूर्वाधार विकास, प्रचारप्रसार र पहुँच विस्तार गर्न सके प्रदेशको पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने सरोकारवालाको भनाइ छ ।

