धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै असोज १ गतेदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ। हाल शनिबार र आइतबार बन्द हुँदै आएको विस्तारित सेवा अब आइतबार तथा अन्य सार्वजनिक बिदाका दिनसमेत सञ्चालनमा आउने भएको हो।
अस्पतालले जारी गरेको सूचना अनुसार असोज १ गतेदेखि आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि विस्तारित सेवा सञ्चालन हुनेछ। यस्तै, सोमबारदेखि शुक्रबारसम्म नियमित समयपछि बेलुकी ५ बजेदेखि पनि विस्तारित सेवा दिइनेछ। शनिबार भने सेवा बन्द रहने अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा . हेमराज पाण्डेयका अनुसार पछिल्लो समय उपचारका लागि आउने बिरामीको संख्या अत्यधिक बढेपछि सेवा विस्तार गर्ने निर्णय गरिएको हो। बिरामीको चापका कारण उपचार नपाई फर्किनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा सञ्चालन गर्न लागिएको उनले बताए।
“बिरामीको अत्यधिक चाप छ। उपचारका लागि आउने बिरामी फर्केर जानुपर्ने अवस्था नहोस् भनेर उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा दिइरहेका छौँ,” मेसु पाण्डेयले भने।
उनका अनुसार अस्पतालमा बिरामीको चाप यति बढेको छ कि एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपर्ने अवस्था छ। प्रदेश सरकार मातहत रहेको सेती प्रादेशिक अस्पतालमा विकास समितिसहित ५० शय्या सरकारी र ७५ शय्या अस्पताल विकास समितितर्फ गरी १२५ शय्याको स्वीकृत क्षमता छ।
तर, बिरामीको चाप बढेपछि अस्पतालले हाल ३२० बेडसम्म सञ्चालन गरेर उपचार सेवा दिइरहेको डा. पाण्डेयले बताए। स्वीकृत बेड क्षमताभन्दा झन्डै तीन गुणा बढी बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहे पनि सोहीअनुसार जनशक्ति भने थप हुन नसकेको उनको भनाइ छ।
“स्वीकृत बेड संख्या सीमित भए पनि बिरामीको चापअनुसार अहिले ३२० बेडसम्म सञ्चालन गरेर उपचार गरिरहेका छौँ। जनशक्ति भने सोहीअनुसार थपिएको छैन,” उनले भने। अस्पताल प्रशासनले बिरामीको संख्या निरन्तर बढ्दै गएकाले उपचार सेवा थप प्रभावित हुन नदिन सेवा समय विस्तार गरिएको जनाएको छ।


