धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माणका लागि सहजीकरण गर्न दुई जना सल्लाहकार नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले एमालेबाट झपट बोहरा र नेकपाबाट टंकमणि शर्मालाई बजेट निर्माण सल्लाहकार नियुक्त गरेको हो । बोहरा सुदूरपश्चिमका पूर्वआर्थिक मामिलामन्त्री हुन् भने शर्मा पूर्वमहालेखापरीक्षक हुन् । आर्थिक वर्ष सुरु भएको डेढ महिना पुगिसक्दा पनि प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन ।
बजेट नहुँदा कर्मचारीको तलब, कार्यालय सञ्चालन, स्वास्थ्य संस्थामा औषधि व्यवस्थापन तथा विकास आयोजनासमेत प्रभावित हुन थालेका छन् । मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेलगत्तै ‘फास्ट ट्र्याक’बाट बजेट ल्याउने घोषणा गरेका थिए । तर, बजेट निर्माणको ठोस प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन ।
अघिल्लो सरकारको बजेट पुनर्लेखन गरेर ल्याउने तयारी गरिए पनि बजेट मन्त्रालयगत रूपमा तयार गर्ने वा कसरी गर्ने विषय अझै टुंगिएको छैन । यसअघि तत्कालीन सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि सुदूरपश्चिम बजेटविहीन अवस्थामा पुगेको हो ।

