धनगढी: नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट ‘सरल’ले आइतबार कैलालीका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। बिहानै अत्तरिया बसपार्कको अनुगमनबाट सुरु भएको उनीहरूको टोली त्यसपछि खुटिया नदी क्षेत्रमा पुगेको थियो। अनुगमनका क्रममा अत्तरिया बसपार्कको वर्तमान अवस्था, आवश्यक पूर्वाधार तथा व्यवस्थापनका विषयमा जानकारी लिइएको थियो।
अत्तरिया सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण व्यापारिक तथा यातायात केन्द्रका रूपमा विकास हुँदै गएको क्षेत्र भएकाले यहाँको बसपार्कलाई व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आवश्यक रहेको अनुगमन टोलीले जनाएको छ। बसपार्कको व्यवस्थापन र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। अत्तरिया बसपार्कको अनुगमनपछि उपमहासचिव भट्ट र मन्त्री भाट खुटिया नदी क्षेत्रमा पुगेका थिए। वर्षायाममा खुटिया नदीबाट हुने कटानका कारण आसपासका बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्ने गरेको स्थानीयवासीले बताउँदै आएका छन्।
खुटिया नदीको स्थलगत अवलोकन गर्दै पूर्वमन्त्री भट्टले नदी नियन्त्रण तथा कटान रोकथामका लागि आवश्यक योजना निर्माण गरी बजेट विनियोजन गर्न सुझाव दिएका छन्। खुटिया क्षेत्र आफ्नो निर्वाचन क्षेत्रसमेत भएकाले त्यहाँका स्थानीयवासीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।
नदी कटानका कारण बस्ती र कृषि क्षेत्रमा हुन सक्ने क्षति रोक्न दीर्घकालीन योजना आवश्यक रहेको भन्दै उनले प्रदेश र संघीय सरकारको समन्वयमा आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट ‘सरल’ले समेत नदी नियन्त्रण, तटबन्ध निर्माण तथा आवश्यक पूर्वाधार विकासका लागि स्थलगत अवस्थाको अध्ययन गरी योजना अगाडि बढाइने बताएका छन्।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग समेत छलफल गर्दै अनुगमन टोलीले क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी लिएको थियो। खुटिया नदीको कटान नियन्त्रण तथा जोखिममा रहेका क्षेत्रको संरक्षणका लागि तत्काल र दीर्घकालीन दुवै प्रकृतिका योजना आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

