धनगढी । कैलालीको भजनी नगरपालिकालाई बालमैत्री स्थानीय पालिका बनाउन लागिएको छ । बालमैत्री बनाउन पूरा गर्नुपर्ने ५१ वटा सूचक पूरा गर्न बालविवाह चुनौतीका रूपमा देखिएको छ । नगरका शिक्षा, स्वास्थ्य, प्रहरीको तथ्याङ्कले यही देखाउँछ । थारू, मुस्लिम समुदायको बसोबास भएको भारतसँग सिमाना जोडिएको यो पालिकामा बालविवाह धेरै हुने गरेको छ । बालविवाह गरेका बालबालिकाले आधारभूत तहको पढाइ पूरा नगरी छोड्ने, विवाहदर्ता नहुने, विवाहपछि कलिलै उमेरमा बालश्रममा लाग्ने, उमेर नपुग्दै गर्भवती हुने, प्रोटोकल अनुसार गर्भजाँच नगराउने, परिवार, समुदाय वा रोजगारीमा रहँदा पनि श्रम शोषण, दुव्र्यवहारमा पर्ने, कुलतमा लाग्न सक्ने, कम उमेरका बुवाआमाले बच्चा जन्माएमा कुपोषित हुने, ख्याउटे पुड्को हुने, जन्मदर्ता नहुने, विवाहदर्ता नभई सम्बन्ध बिग्रिने जस्ता समस्या देखिएका छन् । बालमैत्री वडा वा पालिका बनाउन यी सबै कुराबाट मुक्त हुनुपर्ने व्यवस्था छ ।
बालमैत्री पालिका गठनपूर्व बालमैत्री स्थानीय शासन समिति गठन गरी काम गर्नुपर्ने व्यवस्था छ । काम गर्दा पनि पार नपाइने खालका समस्या रहेका समितिका सदस्य तथा शिक्षक अर्जुन चौधरी बताए । बालविवाह र सीमावारपार विवाहका कारण विद्यालयमा पढिरहेका ६४ बालबालिकाको जन्मदर्ता हुन नसकेको मुहन्याल मावि भजनीका प्रधानाध्यापक विद्याप्रसाद भट्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पाठ्यपुस्तक, दिवा खाजा दिनु पर्छ, उनीहरूको जन्मदर्ता नभएकाले बेरुजु आउन थालेको छ ।”
शैक्षिक सत्र २०८२ मा १४९ जना विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर रहेका छन् । ३९८ जनाले शैक्षिक सत्रको बिचैमा पढाइ छाडेको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत देवराज अवस्थी बताए । स्वास्थ्यको तथ्याङ्क अनुसार पनि एक वर्षमा ८०७ जनाले गर्भ जाँच गराएकोमा १०६ जना र ३१४ जनाले बर्थिङ सेन्टरमा बच्चा जन्माएकोमा ५५ जना २० वर्षमुनिका बालिका रहेका स्वास्थ्य शाखा प्रमुख कैलास डगौरा थारूको भनाइ छ ।
आर्थिक वर्ष २०८२ र ८३ मा २१ वटा घरेलु हिंसाका उजुरी दर्ता भएकामा ११ वटा कम उमेरका विवाहित परेको, एक वर्षमा छ महिला र तीन जना १७ वर्षमुनिका बालिकाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउद बताए । नगर विकासका लागि बालमैत्री पालिका आवश्यक ठानी नगरपालिकाले सुरु गरेको काममा गैरसरकारी क्षेत्रको सहयोग पनि रहेको तर बालबालिकाका समस्या समाधान गर्न बालबालिका स्वयम्देखि शिक्षक, अभिभावक, सामाजिक अगुवा, जनप्रतिनिधि सबैको योगदान आवश्यक रहेको भजनी नगरपालिकाका प्रमुख केवल चौधरी बताउनुहुन्छ । पालिकाले वडा नं। १ बाट बालमैत्री पालिका घोषणा गर्न लागेको छ, यसका लागि विकासका लागि युवा ऐक्यबद्धता संस्थाले प्राविधिक सहयोग गरी वडा बाल पाश्र्वचित्र बनाएर सूचक पूरा गर्ने काममा लागेको रतनलाल चौधरी बताउनुहुन्छ ।

