धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई मौलिक खोलादेलीको संरक्षण र प्रवर्धनका लागि खोलादेलीकै नमुना फोटोफ्रेम हस्तान्तरण गरिएको छ ।
पछिल्ला वर्षहरूमा आधुनिक कङ्क्रिटका संरचना र बाह्य जिल्ला र प्रदेशबाट भित्रिने तयारी एल्युमिनियम–फाइबरका ढोकाका कारण यो परम्परागत काष्ठकला हराउँदै गएपछि यहाँका पर्यटन व्यवसायी र कालिगढले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
पर्यटन व्यवसायीको सहयोगमा मुख्यमन्त्री भेट्न बैतडीबाट धनगढी पुगेको कालिगढ धर्मराम वडले बताए । सुदूरपश्चिमको परम्परागत वास्तुकलामा ‘खोलादेली’ कलात्मक मूल ढोका र त्यसको माथि रहने अर्धचन्द्राकार ‘ढोला’ को विशिष्ट सांस्कृतिक महत्व रहेको कालिगड वडले बताउनुभयो । यद्यपि सरकारी र निजी भवनमा यसको प्रयोग घटेपछि लोप हुने अवस्था पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी र कालिगढको अगुवाइमा प्रदेश सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्रीको फोटो राखेर खोलादेलीको नमुनालाई फोटोफ्रेम निर्माण गरिएको पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए । खोलादेलीको नमुना फोटो फ्रेममा प्रदेशका मुख्यमन्त्री खगराज भट्टको फोटो राखेर बुझाइएको छ ।
खोलादेलीको नमुना फ्रेम ग्रहण गर्नुहुँदै उहाँले प्रदेश सरकारले छिट्टै राजधानी बनाउने तयारी गरेकाले नयाँ बन्ने भवनमा सुदूरपश्चिमकै काष्ठकलाको प्रयोग गर्ने बताए ।
उनले भने “खोलादेली सुरदूरपीश्चमको जिवन्त कला संस्कृति हो । यसलाई मर्न दिदैनौं । यसै वर्ष हामी प्रदेश राजधानी बनाउन स्रोतको व्यवस्था गर्दैछौं । प्रदेश राजधानी बनाउँदा हामी अन्य प्रदेशको मोडेलको जस्तो बनाउँदैनौं ।”
सुदूरपश्चिमको इतिहास, पहिचान र पुरातत्व झल्किने गरी प्रदेश राजधानी बनाउँछौं । यो हाम्रो निर्णय हो, किनकि काठमाडौं आउने पर्यटक ठुला महल हेर्न होइन, हनुमान ढोका, पाटन ढोका र दरवार स्क्वायर हेर्न आउँछन् । भव्य महल उनीहरुले युरोपमै देखिसकेका हुन्छन् । त्यसैले सुदूरपश्चिको कला संस्कृति, पुरातत्व र पहिचानलाई समेटेर हेर्न लायकको राजधानी बनाउँछौं ।”
मुख्यमन्त्री भट्टले प्रदेश सरका, यहाँका पर्यटन व्यवसायी र खोलादेली बनाउने कालिगढको सोच मिलेको बताउँनु हुँदै सबैप्रति उच्च सम्मान व्यक्त गरे । ।

