काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीबाट यातायात श्रमिकसमेत प्रभावित भएको भन्दै अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ आइटीएफले गम्भीर चासो व्यक्त गरेको छ।
नेपालका आफ्ना आबद्ध संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इटवान) युनिट्राभ र नेपाल यातायात मजदुर संघ आवद्ध सदस्य तथा मजदुरहरु सहित बाढी प्रभावित श्रमिक र परिवारप्रति ऐक्यबद्धता तथा गहिरो समवेदना व्यक्त गर्दै सम्पर्कविहीन यातायात श्रमिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।
आइटीएफका अनुसार रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङ, पहिरेबेँसी, खाल्टे तथा नुवाकोटका विभिन्न बस्तीमा बाढी र त्यसबाट उत्पन्न विनाशका कारण ठूलो संख्यामा यातायात श्रमिक प्रभावित भएका छन्। विशेषगरी चीनसँगको सीमा नाका हुँदै सामान ढुवानी गर्ने ट्रक चालकहरू सीमा क्षेत्र टिमुरे भन्सार आसपासमा रहने भएकाले उनीहरू उच्च जोखिममा परेको इटवानले उल्लेख गरेको आइटीउफले उल्लेख गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अरनिको रुट ट्रक इकाई कमिटीका केही सदस्यसमेत बाढीपछि सम्पर्कविहीन रहेको र उनीहरूको अवस्थाबारे यकिन हुन नसकेको भन्दै संगठनले तत्काल खोजी तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। सम्पर्कविहीन श्रमिकका परिवार तथा सहकर्मीहरूमा गम्भीर चिन्ता र त्रास उत्पन्न भएको संगठनले जनाएकोप्रति आइटीएफको एक्यबद्धता रहेको उल्लेख छ ।
आइटीउफका महासचिव स्टेफन कटनले नेपालमा आफ्ना आबद्ध संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले धेरै यातायात श्रमिक, विशेषगरी ट्रक चालकहरू बाढीबाट प्रभावित भएको जानकारी गराएको उल्लेख गर्दै सम्पर्कविहीन श्रमिकलाई खोजी, उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् ।
“हामी हाम्रा नेपाली आबद्ध संगठन इटवानसँग ऐक्यबद्ध छौँ । सम्पर्कविहीन रहेका यातायात श्रमिकहरूको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरण गर्न सरकारसँग गरिएको आह्वानमा हामी साथ दिन्छौँ,” कटनले भनेका छन् ।
आइटीएफका अध्यक्ष प्याडी क्रमलिनले पनि बाढीबाट भएको विनाशप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालका यातायात श्रमिक, उनीहरूका परिवार तथा आबद्ध ट्रेड युनियनसँग महासंघ ऐक्यबद्ध रहेको बताएका छन् । उनले उद्धार कार्य प्रभावित श्रमिकसम्म सकेसम्म छिटो पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, आइटीउफले अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस (ग्क्न्क्) लाई उद्धृत गर्दै हिमनदी भत्किएपछि त्यसबाट उत्पन्न भग्नावशेषसहितको बहावका कारण बाढी आएको जनाएको छ। जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको अवस्थामा यस्तो प्राकृतिक विपद्को जोखिम बढ्दै गएको आइटीएफले जनाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड (क्ष्ऋक्ष्ःइम्) ले समेत नदी प्रणालीमा जम्मा भएका भग्नावशेषका कारण आगामी दिनमा थप बाढी आउन सक्ने चेतावनी दिएको छ।
नेपालमा आइटीएफका इटवान सहित युनिट्राभ र नेटवन गरी तीनवटा आबद्ध यातायात श्रमिक संगठन रहेका छन् । आइटीएफले बाढीपछि तीनै संगठनसँग सम्पर्कमा रही आवश्यक सहयोग र समर्थनका लागि समन्वय गरिरहेको जनाएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भने विपद्का बेला प्रभावित नागरिकसँगै यातायात श्रमिकको खोजी, उद्धार र सुरक्षालाई पनि राज्यको प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएको छ । विशेषगरी सीमा क्षेत्रमा कार्यरत ट्रक चालक, सहचालक तथा अन्य यातायात श्रमिकको यकिन विवरण संकलन गरी परिवारलाई तत्काल जानकारी गराउन, सम्पर्कविहीन श्रमिकको खोजी तीव्र बनाउन र उद्धारपछि सुरक्षित स्थानमा व्यवस्थापन गर्न संगठनले सरकारसँग माग गरेको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले नेपालले सामना गरिरहेको विपद्को घटनामामा परेर विछिप्त बनेका यातायात श्रमिकहरुलाई सहानुभूति र नेपाली यातायात मजदुर संगठनहरुप्रति दर्शाएको एक्यबद्धताका लागि धन्याद दिएको छ ।
संगठनका अध्यक्ष भीमज्वाला राईले आइटीएफका महासचिव स्टेफेन कटन र अध्यक्ष पाडी क्रमलिनलाई यो विपद्मा आइटीएफले प्रकट गरेको सहानुभूति र एक्यबद्धताले उत्साह जागेको राईले बताएका छन् ।

