धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आफ्नो प्रतिबद्धताअनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्।
मंगलबार अस्पतालको अनुगमनमा पुगेका मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाह, बिरामीले प्राप्त गरिरहेको सुविधा तथा अस्पतालको समग्र अवस्थाबारे जानकारी लिएका हुन्।
अनुगमनका क्रममा उनले अस्पतालमा उपचारका लागि आउने बिरामीले भोग्नुपरेका समस्या, स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा उपलब्ध स्रोतसाधनबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए।
मुख्यमन्त्री भट्टले प्रदेशको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको सेती प्रादेशिक अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवामा सुधार गर्दै त्यसलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

उनले अस्पतालमा उपचारका लागि आउने प्रत्येक नागरिकले सहज र सम्मानजनक रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य सेवा लिन अस्पताल पुगेका बिरामीलाई अनावश्यक झन्झट नहोस् र सेवा प्राप्त गर्न लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्नेतर्फ ध्यान दिन पनि उनले निर्देशन दिएका छन्।
मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा कुनै किसिमको समस्या हुन नदिन कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर र जवाफदेही भएर काम गर्न आग्रह गरेका छन्।

