धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशीमा आएको बाढीमा हराइरहेका सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री भट्टले बाढीमा हराइरहेका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका हुन् ।
खोज तथा उद्धारका लागि उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सम्भव भएसम्मका सबै उपाय अवलम्बन गर्न सुरक्षा निकायलाई निर्देशन दिएको मुख्यमन्त्री भट्टले बताए। उनले सुदूरपश्चिम प्रदेशमा हुन सक्ने बाढी तथा अन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन समेत निर्देशन दिएको बताए। बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान तथा लागूऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइएको छ।
यसैबीच, सुरक्षा समितिको बैठकले भोटेकोसी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । सुदूरपश्चिममा बाढी तथा अन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै प्रदेशका सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णयसमेत गरिएको छ।

