धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गौरा र श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
दुवै पर्वको अवसरमा आज शुभकामना सन्देश दिदैँ उहाँले स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
गौरा पर्व हाम्रो मौलिक, संस्कृति, परम्परा, आस्था र पहिचानसँग जोडिएको विशिष्ट पर्व रहेको मुख्यमन्त्रीको भनाइ छ । यस पर्वले एकता, सद्भाव, आपसी प्रेम, भाइचारा र सामाजिक सहिष्णुतालाई अझ सुदृढ बनाउँदै आएको उहाँले उल्लेख गर्नु भएको छ ।
विविधताबिचको एकता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणमा गौरा पर्वको महत्वपूर्ण योगदान रहेको भट्टको भनाइ छ ।
यसैगरी श्रीकृष्ण जन्माष्टमीले सत्य, धर्म, न्याय, प्रेम र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै मुख्यमन्त्रीले कामना व्यक्त गर्नुभएको छ ।

