धनगढी । कैलालीको त्रिनगरस्थित सीमा सुरक्षा गुल्मको कार्यशैलीमाथि प्रश्न उठेको छ । भारतबाट सामान्य घरायसी सामान ल्याउने सर्वसाधारणमाथि कडाइ गर्ने तर घुमुवा प्रयोग गरेर तस्करीका सामान भने आर्थिक लेनदेनमा भित्र्याउन दिने गरेको आरोप स्थानीयले लगाएका छन् । सीमावर्ती भारतीय बजारबाट फर्किएका एक स्थानीयका अनुसार सर्वसाधारणले हजार–पाँच सय रुपैयाँ बराबरका सामान ल्याउँदा समेत सशस्त्र प्रहरीले बरामद गर्ने गरेको छ । तर, तस्करसँग रकम लिएर सामान ओसारपसार गर्न सहज बनाउने गरिएको उनको आरोप छ ।
‘सर्वसाधारणलाई सानो परिमाणको सामान ल्याउँदा पनि रोक्ने गरिएको छ । तर तस्करसँग रकम लिएर सामान छाड्ने गरिएको छ,’ उनले भने, ‘यसमा सशस्त्र प्रहरीका घुमुवा परिचालन गरिएको छ ।’ त्रिनगर सीमा सुरक्षा गुल्मले ‘घुमुवा’ परिचालन गरेर सीमा क्षेत्रमा असुली गराएको आरोप लागेको हो । स्रोतका अनुसार भट्ट र लुहार थरका दुई घुमुवामार्फत तस्करसँग रकम उठाउने र त्यसबापत सामान ओसारपसार गर्न सहज बनाउने गरिएको दाबी छ ।
तर, गुल्मका प्रमुख डीएसपी नवराज नेपालले भने सीमा क्षेत्रमा कडाइ गरिएको दाबी गरेका छन् । उनका अनुसार रोजगारीका लागि भारत गएर फर्किने नेपालीलाई पाँच हजार रुपैयाँसम्मको सामान ल्याउन दिइएको छ भने अन्य सर्वसाधारणलाई पाँच सय रुपैयाँसम्मको सामान ल्याउन दिने व्यवस्था गरिएको छ ।
घुमुवामार्फत असुली भइरहेको आरोपबारे आफू जानकार नरहेको बताउँदै डीएसपी नेपालले त्यसबारे बुझ्ने र आरोप पुष्टि भए दोषीमाथि कारबाही गर्ने बताएका छन् ।

