धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलबीच बुधबार धनगढीस्थित मुख्यमन्त्री निवासमा भेटवार्ता भएको छ।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था तथा प्रदेश सरकारले सार्वजनिक गरेको बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्र उत्पन्न विवादका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै केही प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाएपछि देखिएको विवादलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह र महामन्त्री पौडेलबीच विशेष छलफल भएको बताइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर गठबन्धनभित्र देखिएको मतभेदबारे वस्तुस्थिति बुझ्न आज विहान नेपाली कांग्रेस बाट महामन्त्री पौडेल र र नेकपा एमालेका नेता डा पुष्प कँडेल धनगढी आएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका नेता डा। पुष्प कँडेलले आ–आफ्नो दलका प्रदेशस्तरीय नेता तथा प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्। उनीहरूले बजेट विवादको अवस्था, असन्तुष्टिका कारण तथा निकासका सम्भावित उपायबारे जानकारी लिइरहेको जनाइएको छ।
प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्र देखिएको विवाद समाधानका लागि केन्द्रस्तरबाट समेत सक्रिय पहल सुरु भएपछि आगामी दिनमा राजनीतिक सहमति जुट्ने अपेक्षा गरिएको छ।

