धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि बुधबारको बैठक स्थगित भएको छ। यससँगै आर्थिक वर्ष २०८३र०८४ को बजेटमाथिको छलफल फेरि अन्योलमा परेको छ।
असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट २३ दिनपछि मंगलबार आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रदेश सभामा टेबुल गरेका थिए । बुधबार अपराह्न ४ बजे उक्त बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरिएको थियो । तर बैठक सुरु हुने समयसम्म सरकारका कुनै पनि प्रतिनिधि उपस्थित नभएपछि सभामुख भीम भण्डारीले बैठक स्थगित गरेका हुन् ।
प्रदेश सभा सचिवालयका सचिव युवराज जैशीका अनुसार सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गरिएको हो ।
बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले का सांसदहरू तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र का सांसदहरू उपस्थित भइसकेका थिए ।
बैठक स्थगित भएपछि संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता खगराज भट्टले सरकार बजेटमाथिको छलफलबाट भागेको आरोप लगाए । ‘सरकारले खराब बजेट ल्याएको छ। त्यसैको छलफल गर्न पनि सरकार डराइरहेको छ’, उनले भने ।
प्रदेश सभा सचिवालयले अब अर्को बैठक असार २५ गते बिहीबार बिहान ११ बजे बस्ने जनाएको छ । सो बैठकमा आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरिएको छ।
यसअघि प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट २३ दिनपछि मात्रै प्रदेश सभामा टेबुल भएको थियो । बजेट टेबुल भएसँगै सत्ता साझेदार एमालेले संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । एमाले संसदीय दलले यसअघि नै बजेट यथास्थितिमा पारित गर्न नहुने निर्णय गर्दै संशोधन प्रस्ताव ल्याउने जनाएको थियो ।
उता, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि बजेटलाई लिएर असन्तुष्टि देखिएको छ। आफ्नै दलका केही सांसद र मन्त्रीहरूले बजेटप्रति असहमति जनाएपछि मुख्यमन्त्री कमलबहादुर शाहमाथि राजनीतिक दबाब बढेको छ।
बजेट विवाद समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका नेता डा। पुष्प कँडेल बुधबार धनगढी पुगेका छन् ।
उनीहरूले होटल रूवसमा आ(आफ्ना दलका प्रदेशस्तरीय नेता तथा सांसदहरूसँग छुट्टाछुट्टै छलफल गर्दै बजेट विवाद, सत्ता गठबन्धनभित्रको असन्तुष्टि र आगामी रणनीतिबारे परामर्श गरिरहेका छन्।

