धनगढी । बैतडीको पाटन नगरपालिका–६ निवासी तथा पाटन नगरपालिका–५ मा अहेबका रूपमा कार्यरत हेमन्त भण्डारीको अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीर बनेको छ। परिवारले अस्पतालको चिकित्सकीय लापरवाहीका कारण उनको अवस्था जटिल बनेको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
परिवारका अनुसार सामान्य छाती दुख्ने समस्या देखिएपछि भण्डारी उपचारका लागि डडेल्धुरा अस्पताल पुगेका थिए। त्यहाँ गरिएको ईसीजी परीक्षणमा मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई थप उपचारका लागि कैलालीस्थित अत्तरिया हस्पिटल रिफर गरिएको थियो।
भण्डारी सोमबार श्रीमतीसँगै एम्बुलेन्समार्फत अत्तरिया हस्पिटल पुगेका थिए। परिवारको आरोपअनुसार अस्पताल पुगेलगत्तै चिकित्सकले थप परीक्षण वा विस्तृत स्वास्थ्य मूल्याङ्कन नगरी डडेल्धुरा अस्पतालको ईसीजी रिपोर्टकै आधारमा तत्काल मुटुको शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए।
भण्डारीका सहोदर दाजु उत्तम भण्डारीका अनुसार शल्यक्रियाअघि बिरामीको अवस्था सामान्य थियो। उनकी श्रीमतीले परिवारका अन्य सदस्य आइपुग्दासम्म केहीबेर पर्खिन आग्रह गरे पनि चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्काल शल्यक्रिया गर्नुपर्ने बताएको उनले दाबी गरे।
परिवारका अनुसार शल्यक्रियापछि कम्तीमा २४ घण्टा निरन्तर विशेषज्ञ चिकित्सकको निगरानी आवश्यक पर्ने अवस्थामा पनि अस्पतालले पर्याप्त हेरचाह नगर्दा आईसीयूमै रहँदा पुनः मुटुसम्बन्धी जटिलता ९भिटी० देखिएको थियो। उनीहरूले समयमै उपचार नपाउँदा बिरामीको अवस्था झन् गम्भीर बनेको आरोप लगाएका छन्।
‘शल्यक्रियापछि भाइको अवस्था सामान्य थियो। आईसीयूमा रहेका बेला भिटी भयो। यस्तो अवस्थामा १५ मिनेटभित्र उपचार सुरु हुनुपर्थ्यो,’ दाजु उत्तम भण्डारीले भने, ‘तर समयमै उपचार नपाउँदा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण उनको ज्यान जोखिममा परेको हो।’
परिवारले थप परीक्षण नगरी पुरानै ईसीजी रिपोर्टका आधारमा हतारमा शल्यक्रिया गर्नु र त्यसपछि आवश्यक निगरानी तथा उपचारमा कमजोरी हुनु नै मुख्य लापरवाही भएको दाबी गरेको छ।
यता अत्तरिया हस्पिटलले भने उक्त आरोप अस्वीकार गरेको छ। उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्कीका अनुसार भण्डारी मेजर हृदयाघातको अवस्थासहित अस्पताल पुगेका कारण तत्काल शल्यक्रिया गर्नु आवश्यक थियो। उनका अनुसार अर्को बिहान अचानक मुटुको धड्कनमा समस्या देखिएपछि तत्काल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
डाक्टर कार्कीका अनुसार उपचारपछि मुटुको धड्कनमा सुधार आए पनि बिरामीको होस नखुलेपछि थप उपचारका लागि काठमाडौं लैजान सल्लाह दिइएको थियो। हाल भण्डारीको भारतको रुद्रपुरस्थित मेडिसिटी हस्पिटलमा भेन्टिलेटरमार्फत उपचार भइरहेको छ। परिवारका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर भए पनि ज्यानको जोखिम अझै टरेको छैन। चिकित्सकले अन्तिम प्रयासस्वरूप उपचार जारी रहेको जानकारी परिवारलाई दिएका छन्।
परिवारले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

