दार्चुला: सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत दार्चुलामा धारा निर्माण गरेको छ। जिल्लाको लेकम गाउँपालिका–३ स्थित नेपाल–भारत सीमा क्षेत्र लाली पुलघाटमा खानेपानी धारा निर्माण गरिएको हो।
मंगलबार त्यहाँका वडाध्यक्ष सुरेशसिंह थापाले धारा उद्घाटन गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बीओपी लालीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी, इलाका प्रहरी कार्यालय लालीका प्रमुख प्रहरी निरीक्षक रामचन्द्र जोशी लगायत स्थानीय जनप्रतिनिधि तथा कर्मचारी एवं स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापाले सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालन गरिएको बोर्डर एरिया डेभलपमेन्ट प्रोग्राम अन्तर्गत निर्माण भएको उक्त खानेपानी योजनाबाट सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए।
उनले यसअघि खानेपानीका लागि महाकाली नदी पार गरेर भारतबाट पानी ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्दै योजनाले स्थानीयको दैनिकी सहज बनाउनुका साथै सुरक्षा निकाय र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने बताए। सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा यस्ता जनहितमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

