धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ। दशैँ–तिहारको शुभकामना आदानप्रदानसँगै विभिन्न खेल संघबीच आपसी सद्भाव र मित्रता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिता भोलि बुधबार बिहान ८ बजेदेखि धनगढी रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँ र उपविजेता टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा १५ वटा टोली सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न खेल संघमा आबद्ध कार्यसमितिका पदाधिकारी तथा सदस्य र खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्। तर फुटबल खेलाडीबाहेक अन्य व्यक्तिहरूले मात्र प्रतियोगितामा खेल्न पाउने व्यवस्था गरिएको नेपाल खेलकुद महासङ्घका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य एवं प्रतियोगिता संयोजक हेमकृष्ण रञ्जितकारले बताए।
उनका अनुसार दशैँ–तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सबै खेल संघलाई समेटेर आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेलकुदका माध्यमबाट विभिन्न संघबीच मित्रता, एकता र भाइचारा कायम गर्न प्रतियोगिताले सहयोग पुग्ने उनले बताए।


