धनगढी: धनगढी उपमहानगरपालिका–४ तारानगरमा अनु बुटिक एण्ड ट्रेनिङ सेन्टर औपचारिक रूपमा उद्घाटन गरिएको छ। महिला उद्यमशीलता प्रवर्द्धन गर्दै विशेषगरी महिला हिंसाबाट प्रभावित महिलालाई सीप, रोजगारी र आत्मनिर्भरताको अवसर प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको उक्त सेन्टरको उद्घाटन धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रानाले समाजमा हिंसामा परेका महिलाको उद्धार, पुनःस्थापना र आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको यस प्रकारको संस्था अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। अरूका लागि निस्वार्थ भावले काम गर्ने संस्था तथा व्यक्तिहरू समाजमा विरलै पाइने उल्लेख गर्दै उहाँले यस्तो अभियानलाई धनगढी उपमहानगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “तपाईंहरूले गरिरहनुभएको कामको हामी उच्च सम्मान र कदर गर्छौं। महिला हिंसामा परेका दिदीबहिनीलाई आत्मनिर्भर बनाउने अभियानमा उपमहानगरपालिका सहकार्य गर्न सधैं तयार छ। हामीले पनि हिंसा प्रभावित महिलाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं।”
उपप्रमुख रानाले धनगढी सफा शहर बन्ने अभियानसँगै समाजका मानिसहरूको सोच र व्यवहार पनि सकारात्मक बन्न आवश्यक रहेको बताउँदै कसैले पनि हिंसा नगर्ने र कोही पनि हिंसाको सिकार नहुने वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
सेन्टरकी सञ्चालक पार्वती ऐडीले अनु बुटिक एण्ड ट्रेनिङ सेन्टर केवल बुटिक व्यवसायमा सीमित नरही महिलाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सेन्टरमार्फत महिलालाई सिलाइ–कटाइ तथा बुटिकसम्बन्धी व्यावसायिक तालिम प्रदान गरिनुका साथै आफ्नै व्यवसाय सञ्चालन गर्न आवश्यक सीप र व्यवसायिक योजना बनाउने ज्ञान पनि दिइनेछ।
साथै, हिंसा तथा विभिन्न मानसिक तनावबाट प्रभावित महिलालाई मानसिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराएर आत्मविश्वासका साथ समाजमा पुनःस्थापित हुन सहयोग गरिनेछ।
महिला सञ्चालक र अधिकांश महिला कामदार रहेको यस सेन्टरले स्थानीय महिलाका लागि रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। सीप, स्वरोजगार र मनोसामाजिक सहयोगलाई एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको यस केन्द्रले विशेषगरी हिंसा प्रभावित महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।

