कञ्चनपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा ९एमाले० का उम्मेदवार तारा लामा तामाङ दोस्रो कार्यकालका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय बनेका छन्। अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा ९एस० को गठबन्धनका उम्मेदवार बिना मगर लाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका तामाङ यस पटक पनि मगरसँगै प्रतिस्पर्धामा उत्रिएका छन्।
गत निर्वाचनमा तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दै मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका थिए। मगरले १९ हजार ३४६ मत प्राप्त गरेकी थिइन्। यस पटकको प्रतिस्पर्धामा नेपाली कांग्रेसका गोपी उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का जनकसिंह धामी पनि मैदानमा छन्। अघिल्लो पटक गठबन्धनलाई हराएका तामाङ अहिले दलहरूबीचको समीकरण फेरिए पनि आफू विकासको आधारमा पुनः विजयी हुने दाबी गर्दै आएका छन्।
सोमबार पुनर्वास–१ को बलभद्र बस्तीमा आयोजित घरदैलो अभियानका क्रममा उनले आफ्नो पहिलो कार्यकालमा सम्पन्न तथा अघि बढाइएका योजनाको विस्तृत सूची प्रस्तुत गर्दै निरन्तरता र स्थायित्वका लागि पुनः अवसर दिन मतदातासँग आग्रह गरेका छन्। उनले सडक पूर्वाधार विस्तार, खानेपानी आयोजना, सिँचाइ सुविधा विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुदृढीकरणलगायतका कामलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेका छन्। “मैले सुरु गरेका धेरै काम अझै प्रक्रियामै छन्, तिनलाई पूरा गर्न निरन्तरता आवश्यक छ,” तामाङले भने।
२०७४ सालको निर्वाचनमा उनी एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभा सदस्यका रूपमा रहँदा आफ्नो क्षेत्रमा अघि सारेका विकासका एजेन्डा र कार्यान्वयनका आधारमा मतदाताले पुनः विश्वास गर्ने उनको दाबी छ। तामाङले कञ्चनपुर–१ लाई कृषि, पर्यटन र साना उद्योगमार्फत आत्मनिर्भर र समृद्ध क्षेत्र बनाउने दीर्घकालीन योजना अघि सारेका छन्। “अधुरा काम पूरा गर्न र नयाँ सम्भावनालाई मूर्त रूप दिन दोस्रो कार्यकाल अपरिहार्य छ,” उनले मतदातासँग बताएका छन्।
घरदैलो अभियानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै तामाङले आफूले गरेका विकासका काम, क्षेत्रीय समन्वय र निरन्तर जनसम्पर्क नै आफ्नो जितको मुख्य आधार हुने विश्वास व्यक्त गरे।


