धनगढी: प्रतिनिधीसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । निर्वाचनको समयमा सीमा नाकाबाट अवैध हातहतियार, विस्फोटक पदार्थ तथा शंकास्पद सामग्री भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायले निगरानी उल्लेख्य रूपमा बढाएका हुन् । प्रदेशका त्रिनगर, गड्डाचौकी, झुलाघाट र धार्चुला लगायतका प्रमुख नाकाहरूमा विशेष सतर्कता अपनाइएको छ । ती नाकाहरूमा आवतजावत गर्ने सवारीसाधन र यात्रुहरूको कडाइका साथ चेकजाँच भइरहेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग समन्वय गरी संयुक्त गस्तीसमेत तीव्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खुला सीमाना रहेका स्थानहरूमा समेत पैदल तथा सवारी गस्ती बढाइएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम बिष्टका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले अन्य सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा परिचालन गरिएको हो । “अन्य सुरक्षा निकायसँग हामीले समन्वय गरेर गस्ती पनि बढाएका छौँ,” उनले बताए । उनका अनुसार सीमा क्षेत्रमा शंकास्पद गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको छ भने संवेदनशील नाकाहरूमा अतिरिक्त जनशक्ति खटाइएको छ ।
निर्वाचन सुरक्षालाई थप मजबुत बनाउन प्रदेशका प्रमुख सचिवको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र कैलालीका प्रमुख जिल्ला अधिकारी सदस्य रहने गरी निर्वाचन सुरक्षा कमाण्ड गठन गरिएको छ । उक्त कमाण्डले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयन गरिरहेको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नियमित समन्वय बैठक, सूचना आदान–प्रदान तथा अनुगमनलाई तीव्र बनाइएको जनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेज प्रकाश जोशीका अनुसार कडाइका कारण सीमा नाकाबाट अवैध हतियार वा शंकास्पद व्यक्तिहरू भित्रिन नदिने वातावरण तयार पारिएको छ । उनले सीमा क्षेत्रको सुरक्षा, निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइसकिएको बताए ।
यसैबीच, फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाका तीन दिनका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ । १८ फागुन राति १२ बजेदेखि २१ फागुन राति १२ बजेसम्म नाका बन्द रहने जनाइएको छ । उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य आवतजावतमा रोक लगाइने बताइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सीमा सुरक्षामा कडाइ गरिनुका साथै संवेदनशील क्षेत्रमा थप सतर्कता अपनाइएको सुरक्षा निकायले जनाएको छ ।


