धनगढी: सुदूरपश्चिम प्रदेशको बैतडीमा चुनावी माहोल तातेको छ । दल र स्वतन्त्र गरी ११ उम्मेदवार घरदैलो र मतदाता भेटमा लागिरहेका छन् । लगातार तीन जित निकाल्दै रेकर्ड राखेका एमालेका दामोदर भण्डारीलाई रोक्न यसपटक कांग्रेस, नेकपा, रास्वपा र राप्रपाले बलियो चुनौती दिएका छन् । ०४८ यता बैतडीमा जित निकाल्न नसकेको एमालेलाई भण्डारीले ०७० को संविधानसभा सदस्यको निर्वाचनमा पहिलो जित दिलाएका थिए । त्यसपछिका तीनवटै निर्वाचनमा उनले पछाडि फर्किनुपरेको छैन ।
शिक्षण पेसाबाट राजनीति हुँदै नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष बनेका कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले भण्डारीलाई कडा टक्कर दिएका छन् । विशेष महाधिवेशनपछिको कांग्रेस नेतृत्वले उनलाई उम्मेदवार बनाएको हो । थलिएको कांग्रेसलाई उठाउन चुनावी अभियानमा होमिएको बताउने चन्दलाई सजिलो भने छैन । कांग्रेस एकढिक्का भएर मत नहाल्ने हो कि भन्ने चिन्ता उनमा छ । भण्डारी र चन्दलाई नेकपाका पर्मानन्द भट्ट, रास्वपाका हरिमोहन भण्डारी र राप्रपाका भूपेन चन्दले चुनौती दिएका छन् ।
सबै उम्मेदवारले स्थानीय विकास निर्माणका एजेन्डादेखि राष्ट्रिय राजनीतिका विषयलाई चुनावी नारा बनाएका छन् । कांग्रेस उम्मेदवार चन्दको स्थानीयस्तरमा राम्रो प्रभाव रहेको मानिन्छ । नेपाल शिक्षक संघको नेतृत्व गर्दै अन्य संघसंस्थामा रहेर काम गरेकाले जिल्लाभरिका मतदातासम्मको सञ्जाल नै उनको बलियो आधार हो । चन्दले कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न नपाएर निरुत्साहित भएका वेला आफ्ना लागि अवसर भएको बताए ।
एमालेका भण्डारीको पार्टी संगठनसँगै प्रभाव बलियो छ । बैतडीमा कांग्रेसको भन्दा एमालेको समानुपातिक मत पाँच हजारले बढी छ । अघिल्लोपटक कांग्रेस, माओवादीलगायत दलहरूको गठबन्धन भएका वेला समेत भण्डारीले जित निकालेका थिए । रास्वपा उम्मेदवार हरिमोहन भण्डारी जिल्ला दौडाहमा छन् । उनी ०७४ मा कांग्रेसबाट प्रदेश सभा सदस्य उम्मेदवार बने पनि पराजित भएका थिए । ०७९ को निर्वाचनमा पुनः प्रदेश सभा सदस्यका लागि चुनाव लडेका थिए । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका भण्डारी दोस्रोपटक पनि पराजित भए । यसपटक उनी रास्वपाबाट चुनावी मैदानमा उत्रिएका छन् । जेन–जी आन्दोलनले पुराना दलहरू रक्षात्मक बनेको र यसपल्ट आफूले जित्ने दाबी हरिमोहनको छ । उनी श्रममन्त्री राजेन्द्र भण्डारीका भाइ हुन् ।
एमालेका पुराना नेता परमानन्द भट्ट नेकपाबाट चुनावमा होमिएका छन् । पूर्वमाओवादी र समाजवादीको संगठन परिचालन गर्दै जित निकाल्ने दाउमा भट्ट छन् । उनी पूर्वजिविस सभापति हुन् । उनीसँग पूर्वमाओवादी र समाजवादीका १३ हजार भोट छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेन्द्र चन्द राजनीतिक परिचय बोकेर पहिलोपटक बैतडी छिरेका छन् । राप्रपाबाट उम्मेदवारी दर्ता गराएका उनी आइटीविज्ञका रूपमा विदेशमा काम गरेर फर्किएका हुन् । उनी नयाँ पुस्तालाई साथमा राखेर चुनावमा होमिएको बताउँछन् ।
झुलाघाट पुल र महाकाली करिडोर साझा एजेन्डा
कांग्रेस उम्मेदवार चन्द र एमालेका भण्डारीले सिमानाको झुलाघाट पुललाई मुख्य एजेन्डा बनाएका छन् । ‘पुल बनाउनकै लागि चुनाव लड्दै छु,’ चन्द भन्छन्, ‘भारतलाई कन्भिन्स गर्छु । मेरो व्यक्तिगत रूपमा पनि सम्बन्ध छ । यो पुल बन्छ ।’ यही कुरा दोहोर्याउँदै उनले मतदातामाझ भोट मागिरहेका छन् । भण्डारी पुल निर्माणका लागि आफू मन्त्री भएका वेला भारतीय समकक्षीमार्फत भारत सरकारलाई अनुरोध गरेको दाबी गर्छन् । ‘दुई देशबिचको कुरा भएकाले समय लागेको हो, यसका प्राविधिक पक्षहरूको अध्ययन भइरहेको छ, छिट्टै निर्माणको चरणमा जान्छ,’ उनले भने । मध्यपहाडी लोकमार्गको पश्चिमी विन्दु झुलाघाटमा पछिल्ला तीनवटा निर्वाचनमा सबै दलका उम्मेदरवारले चुनावी एजेन्डा बनाएका थिए ।


