कैलाली — बदलिँदो युगसँगै मानिसको जीवनशैली व्यस्त बनेको छ । घर, अफिस, विद्यालय, अस्पताल र आफ्नो गन्तव्यमा पुग्न सबैलाई हतार छ । त्यही हतारको सारथि बनेका छन्– सवारी साधन र यातायात मजदुर । यात्रुलाई गन्तव्यमा पुर्याउन रातदिन भोकप्यास नभनी खट्छन् यातायात मजदुर । तर, आफ्नै जीवनको गन्तव्य कुन मोडमा अन्तिम हुन्छ, पत्तो नै पाउँदैनन् । सडकमा बित्ने उनीहरूको जीवन कहिले दुर्घटना, कहिले सरकारको बेवास्ता त कहिले अनपेक्षित संकटसँगै गुज्रन्छ । यी क्षणमा जिम्मेवार साहु नभए जेल जीवन र आर्थिक संकटसँग जुध्नु उनीहरूको बाध्यता हो । जसको प्रत्यक्ष असर मजदुरले मात्र होइन, समग्र परिवारले भोग्नु पर्छ ।
यातायात व्यवसाय आफैंमा जोखिमपूर्ण पेसा हो र सबैभन्दा महत्त्वपूर्ण पनि । हरेक पटक जीवन जोखिममा राखेर सडकमा हुइँकिने सवारी चालक झन् जोखिममा हुन्छन् । देशभरका यातायात मजदुरका यिनै जोखिम र हक अधिकारका लागि अभिभावक बनेको छ, सुदूरपश्चिमाञ्चल यातायात मजदुर भलाइ कोष । विसं २०४६ मा स्थापना भएको यो कोष सुरुवातमा केही चालकको साधारण आपसी सहयोगमा चल्थ्यो । तर, अहिले सुदूरपश्चिमका सडक दुर्घटना हुँदा पहिलो फोन यही कोषमा जान्छ । विगत ३ दशकयता यो कोषले चालक–सहचालकलाई राहत, उद्धार, कानुनी सहयोग र स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
सडक दुर्घटना सुनेपछि रातिको १२ बजे होस् वा पहाडको कठिन भीरमा घटना परोस्, कोषका सदस्यहरू त्यहाँ पुग्छन् । घटनास्थलमा पुगेर उद्धार, प्रहरी र परिवारसँग समन्वय गर्ने भूमिका उनीहरू निभाइरहेका छन् । ‘यातायात मजदुर संकटमा पर्दा सहयोग गर्न हामी हरदम तयार हुन्छौं । संकटमा परेको चालक–सहचालकका लागि भलाइ कोष परिवार हो,’ सुदूरपश्चिमाञ्चल यातायात मजदुर भलाइ कोषका अध्यक्ष मुरलीधर बोहरा भन्छन् । २०७५ सालमा गोदावरीको तेघरीका चालक पदम धानुकको गाडी दुर्घटनामा मृत्यु भयो । श्रीमती र छोरीसँगै परिवारको जिम्मेवारी पदमले सम्हालेका थिए । उनको मृत्युपछि त्यो जिम्मेवारी श्रीमती मञ्जु धानुकको टाउकोमा आयो ।
छोरीलाई पढाउन सक्छु कि सक्दिनँ भन्ने बढी चिन्ता मञ्जुलाई थियो । तर उनको यो भार यातायात मजदुर भलाइ कोषले सम्हाल्यो । मञ्जु भन्छिन्, ‘तीन कक्षादेखि छोरीलाई कोषले नै पढाइरहेको छ । अहिले १० कक्षामा पढ्दैछिन् । १२ कक्षासम्मको सबै शुल्क कोषले बेहोर्छ ।’ छोरी स्थानीय जनकल्याण बोर्डिङ स्कुलमा पढ्छिन् । मञ्जुले कोषबाट १ लाख रुपैयाँ आर्थिक सहयोग पनि पाएको बताइन् । त्रासदीका क्षणमा उद्धार त छँदै छ, त्यसपश्चात् कोष राहत र पुनःस्थापनामा पनि अभिभावक बन्छ । कोषले दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई सीपमूलक तालिम, छोराछोरीको पढाइ, अंगभंग भएकालाई आर्थिक सहयोग निरन्तर गरिरहेको छ ।
सडक दुर्घटनाका क्रममा पूर्ण रूपमा अपांगता भएका मजदुरलाई मासिक दुई हजार भत्ता व्यवस्था कोषले गरेको छ । यस्ता कामले सडकमा गुड्ने सयौं मजदुरको रोजीरोटीसँगै आर्थिक सुरक्षा प्रदान गरेको अध्यक्ष बोहरा बताउँछन् । दुई दशकदेखि यातायात व्यवसायमा आबद्ध धनगढीका राजेन्द्र अमात्य यो कोषमा जोडिएको पनि २० वर्ष भयो । सुरुमा सहचालक, चालक हुँदै गाडीको साहु बनेका हुन् अमात्य । उनका दुईवटा बस धनगढी–पोखराका यात्रु ओसारपसार गर्छन् । दुवै गाडीको मासिक ४ हजार शुल्क बुझाउने उनी कोषमा आबद्ध भए आर्थिक र कानुनी झमेला भोग्नु नपर्ने बताउँछन् ।
केही महिनाअघि गाडी दुर्घटना पर्दा कानुनी र प्रशासनिक खर्च कोषले व्यहोरेको अमात्यले सुनाए । ‘चालक र यातायात व्यवसायीको सुरक्षाका लागि कोष महत्त्वपूर्ण छ । तिर्नुपर्ने शुल्क पनि धेरै होइन । बुझ्नेहरू आफैं जोडिन्छन्,’ आमत्यले भने । कोभिड–१९ को महामारीले विश्व आक्रान्त भएका बेला देशभर लकडाउन चल्यो । न यातायातका साधन चले, न मजदुरसँग कमाउने बाटो बाँकी रह्यो । त्यस कठिन बेलामा भलाइ कोषले दर्जनौं यातायातकर्मी परिवारलाई खाद्यान्न वितरण गर्यो । उनीहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि गर्यो । कोष हरेक विपतमा यातायातकर्मीको साथमा हुन्छ ।
‘यातायात मजदुर त्यसै पनि हेपिएका हुन्छन् । न त सरकारले सहयोग गरेको हुन्छ, न श्रमअनुसारको ज्याला पाएका हुन्छन् । यस्तो अवस्थामा कोषसँग पनि आबद्ध नभए एउटै दुर्घटनाले मजदुरसँगै परिवारको जीवन जोखिममा पर्छ,’ अध्यक्ष बोहरा भन्छन् । यातायात मजदुरले भैपरी आउने जोखिमबारे सचेत भइ अनिवार्य रूपमा कोषमा आबद्ध हुनुपर्ने उनको भनाइ छ । बोेहराका अनुसार कोषले मजदुरलाई पेसागत सुरक्षा उपलब्ध गराउने गर्छ ।
अझै जोडिएका छैनन् सबै मजदुर
सुदूरपश्चिमाञ्चल यातायात मजदुर भलाइ कोषमा हालसम्म २ हजारभन्दा बढी यातायातकर्मी आबद्ध छन् । जसमध्ये चालु आर्थिक वर्षमा २ सय ५ जनाले आर्थिक सहयोग पाएका छन् भने २ सय ६९ जनाले एम्बुलेन्स सेवा प्रयोग गरेका छन् । यस वर्ष कोषले पाँच सयभन्दा बढी चालक–परिचालकलाई ट्राफिक र सुरक्षासम्बन्धी तालिम दिने तयारी गरेको छ । यातायातकर्मीका लागि बेलाबेला स्वास्थ्य परीक्षण र निःशुल्क स्वास्थ्य शिविर पनि राख्ने गरेको कोषका अध्यक्ष बोहराले बताए । उनका अनुसार सवारी दुर्घटनाबाट जेल परेका चालकलाई कानुनी सहयोग कोषले गर्दै आएको छ । सँगै चालक जति दिन हिरासतमा बस्छ, त्यति नै दिनको प्रतिदिनको पाँच सय रुपैयाँ हिरासत भत्ता पनि उपलब्ध गराउँछ । सँगै कानुनी प्रक्रियामा लाग्ने खर्च व्यवस्थापनको जिम्मा पनि कोषले लिएको हुन्छ ।
‘चालकको मुद्दा जिल्ला, उच्च र सर्वोच अदालत जहाँ लड्न परे पनि कोषले शतप्रतिशत आर्थिक सहयोग गर्छ । हाम्रो उद्देश्य दुर्घटनापछि जेल परेका चालकलाई जसरी पनि बाहिर निकाल्ने र पुनःस्थापना गराउने हो,’ कोषका अध्यक्ष बोहराले भने । तर, यातायातकर्मीलाई सबै सेवा उपलब्ध गराउन भलाइ कोषलाई सहज भने पक्कै छैन । आर्थिक स्रोत व्यवस्थापन यसको सबैभन्दा ठूलो चुनौती हो । राजमार्गमा गुड्ने सवारी साधनहरूबाट स्वेच्छाले बुझाइने ट्रिप शुल्क, सदस्यता शुल्क नै कोषको आयस्रोत हो । कोषले एक गाडीवापत् १ हजार ६ सयदेखि २ हजार ६ सयसम्म मासिक शुल्क उठाउने गर्छ । सुदूरपश्चिमका नौवटै जिल्ला र देशरभर जुनसुकै ठाउँमा गुड्ने गाडीको दूरीलाई हेरेर रकम निर्धारण गरिने अध्यक्ष बोहराको भनाइ छ ।
शून्य सरकारी सहयोग, कमजोर सडक संरचनाले गर्दा बढी दुर्घटना र श्रमिकमा ट्राफिक तथा सवारी ऐनबारे पर्याप्त ज्ञान नहुनुले अर्को चुनौती थपेको छ । तर यी कठिनाइबीच पनि बर्सेनि सयौं जनाले कोषबाट राहत पाउँदै आएका छन् । यातायात मजदुरको पेसागत सुरक्षाका लागि काम गर्ने यो कोषमा सबै यातायातकर्मी आबद्ध हुन सकेका छैनन् । जसकारण उनीहरू सेवाबाट वञ्चित हुनु परेको छ । मजदुरले यो कोषबाट सेवा लिन अनिवार्य रूपमा कोषमा आबद्ध हुनु पर्छ । तर जनचेतना अभावका कारण सबै मजदुर कोषमा जोडिन नसकेको मजदुर भलाइ कोष कैलालीका कार्यालय प्रमुख गणेश उपाध्याय बताउँछन् । ‘आपत् परेपछि मात्रै कोषलाई सम्झिने प्रवृत्ति देखिन्छ । यो कोष म र मेरो पेसागत सुरक्षाका लागि हो भनेर सबैले बुझिसकेका छैनन् । हामी बुझाउने प्रयास गरिरहेका छौ,’ उपाध्यायले भने । उनका अनुसार कोषले आफ्नो वार्षिक कार्यक्रममा यातायात मजदुर जनचेतना कार्यक्रम पनि समावेश गरेको छ ।
दुई वर्षमा १ सय ६४ जनाको मृत्यु
सवारी दुर्घटना प्रत्यक वर्ष बढिरहेको तथ्यांकले देखाउँछ । जिल्ला ट्राफिक कार्यालय कैलालीको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा कैलालीमा मात्र ७ सय ७१ सवारी दुर्घटना भएका छन् । जसमध्ये आव ०८०/८१ मा १ सय ९२ र ०८१/८२ मा तेब्बरले बढेर ५ सय २५ घटना भए । यी दुर्घटनामा १ हजार १ सय ५४ जना घाइते भएका छन् भने १ सय ६४ जनाले ज्यान गुमाए । साँघुरा सडक, ट्राफिक नियमको उल्लंघन र उच्च सवारी चापले सडक दुर्घटना बढाइरहेको ट्राफिक कार्यालय कैलालीका प्रहरी निरीक्षक चक्रबहादुर देउवा बताउँछन् ।
सवारी दुर्घटनापछि चालकमाथि सामाजिक, आर्थिक र कानुनी दबाब सबैभन्दा बढी हुन्छ । यो अवस्थामा भावनात्मक सहयोगले पनि चालकलाई राहत पुग्ने यातायात व्यवसायी अमात्य बताउँछन् । ‘चालकले जानेर मान्छेलाई दुर्घटनामा पार्दैन । न त जानेरै गाडी पल्टाउँछ । तर गाडी साहु, यात्रु, प्रहरीदेखि सबैले योजना बनाएर गाडी ठोकेको हो जस्तो व्यवहार गर्छन्,’ अमात्य भन्छन्, ‘यो गलत प्रवृत्ति हो, चालकलाई गाडी ठोक्न, पल्टाउन रहर हुँदैन ।’ सुदूरपश्चिमका हरेक मोड, भीर, हिलाम्य र धुलाम्मे सडकमा जोखिम उत्तिकै छ । ती जोखिमसँग चालक एक्लै लड्नुपर्ने बाध्यता हटाउन यो कोषमा आबद्ध हुनुपर्ने उनको भनाइ छ ।
कोषका कार्यालय प्रमुख गणेश उपाध्यायका अनुसार निजी, सार्वजनिक लामो र छोटो दूरीका सबै सवारी साधन सञ्चालक कोषमा आबद्ध हुन पाउँछन् । यात्रु ओसारपसारमा संलग्न अटो रिक्सा चालकले पनि कोषमा जोडिन पाउने व्यवस्था छ । सदस्यता पाउन भने ३ महिना लगातार ट्रिप काट्नुपर्ने हुन्छ । ‘एउटा गाडी आबद्ध भएबापत् त्यसमा कार्यरत चालक, सहचालक र सहयोगी गरी ३ जनालाई कोषले सुविधा दिन्छ,’ उपाध्याय भन्छन्, ‘कोषमा आबद्ध भएको दिनदेखि नै सेवा सुविधा पाइन्छ ।’ उनका अनुसार सडकमा ज्यान जोखिममा राखेर काम गर्ने श्रमिकका लागि यातायातलाई सुरक्षित र सम्मानित पेसा बनाउन कोष प्रतिबद्ध छ । त्यसैले त यातायातकर्मीका लागि भरपर्दो सहारा बनेको छ– सुदूरपश्चिमाञ्चल यातायात मजदुर भलाइ कोष ।कान्तिपुरबाट


