धनगढी — देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातेको छ। राजनीतिक दल र उम्मेदवारहरू मत माग्न घरदैलोमा व्यस्त छन्। तर सुदूरपश्चिमको सीमावर्ती नाका गौरीफन्टा नाका मा भने दृश्य फरक छ—झोला–गुन्टा बोकेका युवाहरूको लाम, गन्तव्य भारतका सहरहरू। गाउँमा रोजगारीको अभावले भारत धाउनुपर्ने बाध्यता यस वर्ष पनि उस्तै देखिएको छ। फागुन २१ गते हुने निर्वाचनले रोजगारीको समस्या समाधान गर्छ भन्नेमा धेरै युवा विश्वस्त छैनन्। उनीहरूको भनाइमा, “चुनावले पेट भरिँदैन।”
“भोटले होइन, कामले जीवन चल्छ”
बझाङका धनबहादुर बोहरा चुनावकै समयमा भारततर्फ लाग्दै थिए। “घरमा काम छैन। चुनावले रोजगारी दिन्छ भन्ने भरोसा छैन,” उनले भने। कैलालीको फूलबारीका सचिन चौधरी विगतका चुनावी वाचाप्रति असन्तुष्ट छन्। “पटक–पटक भोट दियौं, तर समस्या ज्यूँका त्यूँ। नेताले काम गरेनन् भने भोटको अर्थ केरु” उनी प्रश्न गर्छन्। उनका अनुसार नेपालमै रोजगारी सुनिश्चित भएको भए विदेशिनु पर्ने थिएन। भारत जान लागेका कैलालीका रविन्द्र चौधरीसँग भोटर कार्डसमेत छैन। “बालबच्चा पाल्न पैसा चाहियो। भोटले चुल्हो बल्दैन,” उनले भने। अब बन्ने सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको माग छ।
बाजुराका लालबहादुर थापा भारतको बेङ्लोरमा सुरक्षागार्डको काम गर्न जाँदै थिए। “नेपालमा चुनाव छ, तर हामीलाई पुग्दैन। गाउँमा सडकसमेत छैन,” उनले गुनासो गरे। विकासका आधारभूत संरचना नपुगेको गुनासो सीमामा भेटिने धेरै युवाको साझा आवाज बनेको छ। ६० वर्षीय दयाराम विक पनि उही लाइनमा भेटिए। “यता भोट हाल्न बसौँ भने उता भारतको जागिर जाने डर छ,” उनले भने। डोटीकी गीता दमाईको परिवार वर्षौंदेखि भारतको मुम्बईमा बस्दै आएको छ। “हामी गरिबलाई चुनावले के नै हुन्छ ररु भोटभन्दा भोक प्यारो छ,” उनले स्पष्ट भनिन्।
निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार सुदूरपश्चिममा यसपटक महिला मतदाता बढी छन्—८ लाख ६४ हजार ४२३ महिला, ८ लाख ५१ हजार ३१९ पुरुष र १८ जना अन्य मतदाता। जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख ५१ हजार ५२ जना छन् भने सबैभन्दा कम दार्चुलामा ९२ हजार ९४८ जना। अन्य जिल्लामा कञ्चनपुरमा ३ लाख १४ हजार ३८५, अछाममा १ लाख ६५ हजार ३३७, बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३ र डडेलधुरामा ९३ हजार ४०३ मतदाता रहेका छन्।
तथ्यांकले मतदाता संख्या बढेको देखाए पनि मतदानका दिन कति जनाले मत हाल्न पाउँछन् भन्ने अनिश्चित छ। कारण—निर्वाचनको माहोलसँगै रोजगारीको खोजीमा सीमा नाका हुँदै भारत पस्नेहरूको ताँती। सीमा क्षेत्रमा फर्किनेहरूसँग नेताहरू भोट मागिरहेका छन्। तर विदेशिनेहरू भन्छन्—“घरमै बस्दा गुजारा चल्दैन।” मताधिकार प्रयोग गर्न नपाउने वा रुचि नदेखाउने अवस्थाले सुदूरपश्चिममा बेरोजगारीको गहिरो समस्या झल्काउँछ। युवाहरूको मुख्य माग स्पष्ट छ—नारा होइन, रोजगारीस भाषण होइन, अवसर।
निर्वाचन लोकतन्त्रको उत्सव मानिन्छ। तर जब युवाका लागि ‘भोटभन्दा भोक ठुलो’ बन्छ, तब त्यो उत्सव अधुरो देखिन्छ। अब बन्ने सरकारले युवाको विश्वास फर्काउन सक्छ कि सक्दैन—यो प्रश्न सीमामा उभिएको लामो लाइनले सोधिरहेको छ।


