धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। उपचारका क्रममा थप दुई जनाको ज्यान गएपछि मृतक संख्या बढेको हो।
प्रहरीका अनुसार गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटना शुक्रबार साँझ भएको बताइएको छ।
दुर्घटनामा घाइते भएका धनगढी–२ निवासी हरिष ओलीको उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि उपचाररत अन्य दुई जना पनि ज्यान गुमाएका छन्।
इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार गोदावरी नगरपालिका–१ का २१ वर्षीय हरिश विक र सोही ठाउँका अन्दाजी २५ वर्षीय योगेन्द्र शाहको उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते गोदावरी–६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको मायामेट्रो अस्पतालमा मा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनाको कारण, गति र लापरबाहीबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


