धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टले निर्वाचन आचारसंहिता विपरीत आर्थिक सहयोग वितरण गरिरहेका छन्। निर्वाचन नजिकिँदै गर्दा भट्टले विभिन्न विद्यालय, संघसंस्था तथा व्यक्तिहरूलाई नगद सहयोग गर्दै हिँडेको भन्दै राजनीतिक वृत्तमा तीव्र चर्चा सुरु भएको छ। बुधबार मात्रै भट्टले घण्टेश्वर माध्यमिक विद्यालय लाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। गोदावरी नगरपालिका–१ मा आयोजित विद्यालयको ३०औँ वार्षिकोत्सव कार्यक्रममा उपस्थित भट्टले उक्त रकम सहयोग गर्ने सार्वजनिक घोषणा गरेका हुन्।
यसअघि उनले अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउस लाई साढे २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए। त्यस्तै, विभिन्न धार्मिक तथा सामाजिक कार्यका नाममा समेत रकम वितरण गरिएको बताइएको छ। शिव मन्दिर निर्माणका लागि सहयोग दिएको, ओलानी क्षेत्रमा एक व्यक्तिको घर निर्माणका लागि रकम उपलब्ध गराएको तथा अन्य व्यक्तिहरूलाई समेत व्यक्तिगत रूपमा नगद वितरण गरेको स्रोतको दाबी छ।
निर्वाचन आचारसंहिताअनुसार मतदातालाई प्रभाव पार्ने उद्देश्यले आर्थिक प्रलोभन दिनु वा सहयोग वितरण गर्नु कानुनविपरीत मानिन्छ। भट्टका यस्ता गतिविधिले मतदातालाई प्रलोभनमा पार्ने प्रयास भएको आरोप अन्य राजनीतिक दलका नेताहरूले लगाएका छन्। यता, भट्ट पक्षका समर्थकहरूले भने सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको दाबी गर्दै आएका छन्। उनीहरूले चुनावी प्रचारसँग सहयोगलाई नजोड्न आग्रह गरेका छन्।
यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ। निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको कडाइका साथ पालना गरिनुपर्नेमा जोड दिइएको छ।


