धनगढी: सुदूरपश्चिम प्रदेशमा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि करिब ९५ प्रतिशत तयारी पूरा भएको छ। प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा आवश्यक निर्वाचन सामग्री पुगिसकेको र कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। प्रदेशका ७३४ वडामै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । कैलालीका १२६ वडासहित प्रदेशका सबै १६ निर्वाचन क्षेत्रका वडामा मतदाता शिक्षा अभियान सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा करिब १५ हजार कर्मचारी खटिने भएका छन्। मतदानमा खटिने कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ भने फागुन १७ गतेभित्र सबै कर्मचारी निर्वाचन सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ। यस पटक प्रतिनिधि सभा निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुई वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ। प्रदेश निर्वाचन अधिकारी भट्टले निर्वाचन अवधिभर सूचना प्रवाहको शुद्धता कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिन सक्ने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन आम मतदाता तथा सञ्चारकर्मीलाई आग्रह गरे।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। सामाजिक सञ्जालमा फैलिने गलत सूचना र अपुष्ट समाचारले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भएकाले संयमित र तथ्यमा आधारित सूचना प्रवाह आवश्यक रहेको उनले जोड दिए। यो पटकको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० जना मतदाता रहेका छन्। प्रदेशभर एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको छ। सुरक्षा व्यवस्थासमेत सुदृढ पारिएको जनाउँदै सम्बन्धित निकायहरूले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने तयारी गरिएको बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा प्रदेशभर निर्वाचनको माहोल तातेको छ भने मतदाता शिक्षा, कर्मचारी परिचालन र सामग्री व्यवस्थापनका कामले तीव्रता पाएको छ। निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।


