धनगढी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार यज्ञराज ढुंगाना ले भ्रष्टाचारविरुद्ध जेनजी (Gen Z) युवाहरूले उठाएको आवाजप्रति सम्मान व्यक्त गरेका छन्। धनगढीमा आयोजित खुल्ला संवाद कार्यक्रममा बोल्दै उनले देशमा भ्रष्टाचारले गहिरो जरा गाडेकै कारण युवाहरूको असन्तुष्टि विस्फोटको रूपमा देखिएको बताएका हुन्।
“भ्रष्टाचारविरुद्धको भावना शुद्ध थियो,” उनले भने, “तर आन्दोलनमा विभिन्न शक्तिहरूको घुसपैठ हुँदा नसोचेका र दुःखद घटना भए।” आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले २३ गते विद्यार्थीहरूको सहादत हुनु अत्यन्तै पीडादायी भएको बताए। २४ गतेको आन्दोलनमा सार्वजनिक तथा निजी संरचनामा भएको क्षतिप्रति पनि उनले दुःख व्यक्त गरे। “अलि संयमता अपनाएको भए राम्रो हुन्थ्यो। हाम्रा भौतिक संरचना ध्वस्त भए, निजी संरचना जले, ठूलो क्षति भयो,” उनले भने। एकपटक गल्ती भइसकेपछि पुनः त्यही गल्ती दोहोरिन नहुनेमा उनले जोड दिए।
राष्ट्रियता र राजनीतिक स्थिरतामा जोड
बहसका क्रममा ढुंगानाले राष्ट्रियताको सवालमा देश केही कमजोर बनेको अनुभूति भइरहेको बताए। “हाम्रो देशको संयन्त्रले मात्रै सबै कुरा सम्भव हुँदैन,” भन्दै उनले नीतिगत स्पष्टता र कूटनीतिक सुदृढीकरण आवश्यक रहेको धारणा राखे। साथै, तीन वर्षमै पुनः निर्वाचन हुनु जनताको चाहना नभएको उल्लेख गर्दै उनले राजनीतिक स्थिरता नै विकास र समृद्धिको आधार भएको बताए।
स्वास्थ्य क्षेत्र सुधार पहिलो प्राथमिकता
स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै उनले सेती प्रादेशिक अस्पताल को स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए। आफूलाई स्वास्थ्य क्षेत्रको अनुभव रहेको उल्लेख गर्दै उनले सेती अस्पताललाई सुविधासम्पन्न र सेवामुखी बनाउने दाबी गरे। “सेतीमा गरिबले सहजै उपचार सेवा पाउनुपर्छ,” उनले भने, “हाल उपलब्ध नभएका सेवा विस्तार गरिनेछ।”
त्यसैगरी, शहीद दशरथचन्द विश्वविद्यालय को प्रभावकारी सञ्चालन तथा स्वास्थ्य विषयको अध्यापन सुरु गर्ने घोषणा पनि उनले गरेका छन्। यसले प्रदेशमै दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने उनको विश्वास छ।
शिक्षा सुधार र रोजगारी सिर्जना
रोजगारी सिर्जनाका लागि शैक्षिक सुधार अनिवार्य रहेको उनले बताए। “हाम्रो जनशक्ति विश्व बजारमा बिक्ने हुनुपर्छ,” भन्दै उनले सबै सामुदायिक विद्यालयमा आईटी र प्राविधिक विषयको अध्ययन–अध्यापन अनिवार्य गर्नुपर्ने धारणा राखे। सरकारले मात्रै सबै रोजगारी सिर्जना गर्न नसक्ने भन्दै निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे।
उद्योग र लगानीमैत्री नीति आवश्यक
ढुंगानाले उद्योग स्थापना र औद्योगिक लगानी वृद्धि गर्न नीतिगत सुधार अपरिहार्य रहेको बताए। देशको वर्तमान आर्थिक अवस्था कमजोर रहेकाले ठूला राष्ट्रिय गौरवका योजना समेट्न नसकिएको स्पष्ट पार्दै उनले व्यवहारिक र कार्यान्वयनयोग्य एजेण्डा अघि सारेको दाबी गरे। “गर्न नसकिने कुरा मैले एजेण्डा बनाएको छैन,” उनले जोड दिए।
खुला संवाद कार्यक्रममा प्रस्तुत विचारमार्फत उम्मेदवार ढुंगानाले सुशासन, स्वास्थ्य, शिक्षा, उद्योग र राष्ट्रिय स्वाभिमानलाई आफ्ना मुख्य प्राथमिकता बनाएको सन्देश दिएका छन्। अब उनका प्रतिबद्धता व्यवहारमा कसरी रूपान्तरण हुन्छन् भन्ने विषयमा मतदाताको चासो केन्द्रित हुने देखिन्छ।


