कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। मंगलवार धनगढीस्थित रास्वपाको पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु र कैलाली–५ का उम्मेदवार डा। आनन्दबहादुर चन्दले चौधरीलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेशपछि चौधरीले आफूले निरन्तर उठाउँदै आएका मुद्दा र रास्वपाले अघि सारेका एजेन्डाबीच स्पष्ट समानता रहेकाले नयाँ यात्रामा जोडिने निर्णय गरेको बताए । ुमैले उठाएका सवालहरू र रास्वपाले अघि सारेका विषयबीच गहिरो सम्बन्ध देखेँ। मेरा धेरै सहकर्मीहरू यसअघि नै रास्वपामा आबद्ध भइसकेका थिए, तर परिस्थितिका कारण म त्यसबेला सहभागी हुन सकेको थिइनँ। अहिले भने साझा लक्ष्य र उद्देश्यलाई सशक्त रूपमा अघि बढाउन पार्टीमा आबद्ध भएको हुँ, उनले भने, अब हामी सबै मिलेर जनताका मुद्दालाई परिणाममा पुर्याउने दिशामा काम गर्नेछौं ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली–५ मा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले पाँच हजार हाराहारीमा मत प्राप्त गरेका थिए । चौधरीले आफूले पाएको जनसमर्थनलाई अब रास्वपामार्फत अघि बढाउने र साझा एजेन्डालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


