धनगढी: धनगढी उपमहानगरपालिका–५ मा अवस्थित एक्सिस बिद्याश्रम को २१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालयकी प्रिन्सिपल अनिता पन्तको अध्यक्षतामा आयोजित समारोहमा धनगढी उपमहानगरपालिकाकी उप-प्रमुख कन्दकला कुमारी राना प्रमुख अतिथिका रूपमा सहभागी भइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले धनगढी उपमहानगरपालिकाको शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एक्सिस बिद्याश्रमले गुणस्तरीय शिक्षासँगै अनुशासन, नैतिक मूल्यमान्यता र जीवनोपयोगी सिप विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताइन्। उनले वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरिन्।
रानाका अनुसार विद्यालयले विद्यार्थीहरूको प्रतिभा, क्षमता र चरित्र विकासमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएको छ, जुन साँच्चिकै सराहनीय र प्रेरणादायी छ। उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको समेत उल्लेख गरिन्।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी समारोहलाई आकर्षक बनाएका थिए। विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यालयकी प्रिन्सिपल पन्तले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको उक्त समारोहले विद्यालयको २१ वर्षे शैक्षिक यात्रालाई स्मरणीय बनाएको छ।


