धनगढी । कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१ र ०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।
पालिकाले २६ वटा ठेली दिए पनि चालु आवको हालसम्म सात वटा ठेलीको मात्रै राजस्व दाखिला गरिएको छ । आवमा सङ्कलन गरिएको रोयल्टी चालु आवको साउन १५ गतेसम्म बुझाइसक्नुपर्ने कानुनी व्यवस्था छ तर गाउँपालिकाको कार्यालयले दिइएको ठेली अनुसार न राजस्व पाएको छ, न त बाँकी रहेको ठेली नै फिर्ता भएका छन् ।
रोयल्टी उठाउनका लागि २६ वटा ठेली रोयल्टी सङ्कलकलाई दिएकोमा सात ठेलीको मात्रै रोयल्टी पालिकामा दाखिला भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए । अझै १९ ठेलीको रोयल्टी आउन बाँकी रहेको उनले बताए । उठेको सबै राजस्व गएको साउन १५ गतेभित्रै जम्मा गरिसक्नुपर्नेमा अहिलेसम्म दाखिला नगर्नु कानुनविपरीत हो । “यदि सबै ठेली काटिएको हो भने त्यही अनुसार राजस्व दाखिला गरिनु पर्दथ्यो,” उनले भने “काटिएको छैन भने १९ वटा ठेली फिर्ता गरिनु पर्दथ्यो, जुन भएको छैन ।”
गत आवमा कैलारी गाउँपालिका–६ र ९ स्थित घुरहा नदीबाट बालुवा उत्खननका लागि पालिकाले तीन चोटि टेन्डर आह्वान गरेको थियो तर प्रदेश सरकारले ६२ लाख रुपियाँ अनिवार्य रोयल्टी तोकेका कारण कसैको पनि टेन्डर परेन । तीन÷तीन पटक टेन्डर आह्वान गर्दा एउटा पनि नपरेपछि गाउँपालिकाले कार्यपालिकाको बैठकबाट रोयल्टी सङ्कलनका लागि ज्यालादारीमा दुई जना अस्थायी कर्मचारी नियुक्त गरेको थियो । यसै गरी रोयल्टी सङ्कलकलाई परिचालन गर्नका लागि पनि एक अस्थायी कर्मचारी नियुक्त गरिएको थियो ।
मासिक १७ हजार रुपियाँ पारिश्रमिक दिने गरी कैलारी गाउँपालिका–३ का राजु बराल, वडा नम्बर ९ कोइलहीका लाहुराम चौधरी र गदरियाका रञ्जिता रानालाई ज्यालादारीमा अस्थायी नियुक्त गरेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । चौधरी र रानाले रोयल्टी सङ्कलन र नेपाली कांग्रेसको क्षेत्रीय सदस्यसमेत रहनुभएका बरालले दुवै सङ्कलकलाई परिचालनको जिम्मेवारी पाएका थिए । सङ्कलन भएको राजस्व गाउँपालिकाका अध्यक्षका स्वकीय सचिवसमेत रहनुभएका जितेन्द्र चौधरीले बुझेर पालिकामा ल्याउने गरेका थिए । रोयल्टी सङ्कलक लाहुराम चौधरीले आफूले २५ ठेली पूरै काटेर रोयल्टी सङ्कलन गरेको जनाउँदै उठेको सबै रकम पालिकालाई नै बुझाएको जिकिर गरे । “उठेको रकम लिन जितेन्द्र चौधरी आउनुहुन्थ्यो, मैले सबै रकम उहाँलाई बुझाएको छु,” चौधरीले भने , “तर मलाई पालिकाबाट बिल, भर्पाई दिइएन ।”
रोयल्टी सङ्कलकबाट पैसा बुझेर पालिकामा ल्याउनुभएका चौधरीले आफूलाई दिइए अनुसारको रकम मात्रै पालिकामा दाखिला गरेको दाबी गरे । “उनीहरू सङ्कलकले जति दिए, मैले त्यति नै पालिकामा जम्मा गरेको हुँ,” उनले भने , “तर रकम हिनामिना गरेको विषयमा मेरो नाम जोडियो, मलाई दुःख लागेको छ ।” उनले आफूलाई तीन लाख २१ हजार रुपियाँ मात्रै सङ्कलकले दिएको जिकिर बताए । त्यति नै रकम पालिकामा दाखिला भएको छ । यद्यपि सात ठेलीको रोयल्टी तीन लाख ३६ हजार हुनुपर्ने देखिन्छ ।
आम्दानीभन्दा खर्च बढी
पालिकाले रोयल्टी सङ्कलनका लागि तीन कर्मचारीको तलबमा मासिक १७ हजारका दरले आठ महिनाको चार लाख आठ हजार रुपियाँ भुक्तानी गरेको छ तर आन्तरिक आम्दानीका लागि उठाइएको बालुवा उत्खननको राजस्व रोयल्टी सङ्कलकमा खर्च गरिएको तलब रकमभन्दा न्यून रहेको छ । प्रतिरसिद ९६० रुपियाँ रोयल्टी लिएर बालुवा उत्खनन गर्न दिइएको थियो । एक ठेलीमा ५० वटा रसिद थियो । सङ्कलक चौधरीले मात्रै २५ ठेली काट्दा १२ लाख रुपियाँ राजस्व रोयल्टी उठेको देखिन्छ तर त्यसमध्येबाट झन्डै नौ लाख रुपियाँको हिसाबकिताब छैन । पालिकाले १९ वटा ठेलीको राजस्व आउन बाँकी रहेको जनाएको छ । १९ वटै ठेली काटिएको हो भने नौ लाख १२ हजार रुपियाँ अझै दाखिला हुन बाँकी देखिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले यो प्रकरणका दोषी कारबाहीको भागेदार हुने बताए । उनले दाखिला हुन बाँकी रहेको राजस्व दाखिलाका लागि पत्र पठाउन कर्मचारीलाई निर्देशन दिएको भन्दै समयमा राजस्व नबुझाउनु बदमासी हो र जसले बदमासी गरेका छन्, उसलाई कानुन अनुसार कारबाही हुने बताए । गोरखापत्र

