धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ संकलन गर्न प्रवेश गरेका महिलामध्ये बेल्डाँडी गाउँपालिकाका तीन जनाको सकुशल उद्धार गरिएको छ।
रणसिंह दल गणका क्याप्टेन सुमन केसीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निकुञ्जभित्रको लल्लेरी क्षेत्रबाट आज बिहान उनीहरूको सकुशल उद्धार गरेको हो।
यसैबीच, बागफाँटा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका अन्य १४ जना महिला अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजीकार्य नेपाली सेना तथा सम्बन्धित निकायले तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले ज्यान जोखिममा पारेर अवैध रूपमा निकुञ्ज प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गर्दै वन्यजन्तु र प्राकृतिक जोखिमका कारण यस्ता गतिविधि अत्यन्त जोखिमपूर्ण हुने जनाएको छ।

