धनगढी: कैलालीमा लागुऔषध कारोबार तथा दुर्व्यसनको समस्या वर्षेनी गम्भीर बन्दै गएको देखिएको छ। पछिल्ला चार आर्थिक वर्षको प्रहरी तथ्यांकले जिल्लामा लागुऔषधसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्तिको संख्या तथा बरामद हुने लागुऔषधको परिमाण उच्च रहेको देखाएको छ। यसले लागुऔषध नियन्त्रणका लागि प्रहरी र सम्बन्धित निकायका प्रयास पर्याप्त प्रभावकारी हुन नसकेको संकेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी ३४७ मुद्दा दर्ता भएका थिए भने ५२२ जना पक्राउ परेका थिए। सो अवधिमा प्रहरीले ७९२ ग्राम खैरो हेरोइन, ६७९ ट्याब्लेट नाइट्राभेट, ४८ किलो चरेश र १ हजार २०० क्याप्सुल नाइट्राजेपाम बरामद गरेको थियो। आर्थिक वर्ष २०८०/८१ मा ३१५ मुद्दा दर्ता भई ४४७ जना पक्राउ परेका थिए। त्यस वर्ष ३१ किलो चरेश, ३१३ ग्राम ब्राउन सुगर तथा ८५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा भने लागुऔषधसम्बन्धी गतिविधि उल्लेख्य रूपमा बढेको देखिएको छ। उक्त वर्ष ४६९ मुद्दा दर्ता भएका थिए भने ७०० जना पक्राउ परेका थिए। प्रहरीले ७१८ ग्राम खैरो हेरोइन, ७३ किलोभन्दा बढी चरेश, झण्डै ४ किलो गाँजा, करिब २ किलो अफिम तथा ७ हजार १५१ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरेको थियो। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ४११ मुद्दा दर्ता भई ५९३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले ३० किलो ४५९ ग्रामभन्दा बढी चरेश, ९४६ ग्राम ९७७ मिलिग्राम खैरो हेरोइन, १ किलो ५३५ ग्राम गाँजा र १ हजार ६४२ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरेको बताए।
चन्दका अनुसार लागुऔषध दुर्व्यसनसँगै जिल्लामा अन्य आपराधिक गतिविधि पनि बढ्दो क्रममा छन्। आर्थिक वर्ष २०८२/८३ मा मात्रै कैलालीमा विभिन्न प्रकृतिका १ हजार ९ सय २९ अपराधका घटना दर्ता भएका छन्। तीमध्ये १७ वटा कर्तव्य ज्यान, ३०२ आर्थिक अपराध, १५७ सामाजिक अपराध तथा २३३ महिला तथा बालबालिकासम्बन्धी अपराध रहेका छन्। प्रहरीको भनाइमा लागुऔषध दुर्व्यसनले चोरी, हिंसा, कुटपिट, घरेलु विवाददेखि ज्यानसम्बन्धी अपराधसम्मलाई बढावा दिने गरेको छ। प्रहरीले सीमावर्ती क्षेत्रको निगरानी, नियमित चेकजाँच, गोप्य सूचनाका आधारमा कारबाही तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। तर खुला सीमा, युवामा बढ्दो दुर्व्यसन र संगठित तस्करीका कारण चुनौती कायमै रहेको प्रहरीको भनाइ छ।
चार वर्षको तथ्यांकले कैलालीमा लागुऔषध नियन्त्रण अझै चुनौतीपूर्ण रहेको स्पष्ट देखाउँछ। मुद्दा र पक्राउको संख्या उच्च रहनु तथा ठूलो परिमाणमा लागुऔषध बरामद भइरहनुले जिल्ला लागुऔषध कारोबारको जोखिममा रहेको संकेत गर्दछ। यस्तो अवस्थामा प्रहरीको कारबाही मात्र पर्याप्त नहुने भएकाले स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा सम्बन्धित सबै निकायको समन्वित पहल आवश्यक देखिन्छ। लागुऔषध दुर्व्यसनलाई सामाजिक अभियानका रूपमा नियन्त्रण गर्न नसके अपराध, हिंसा र सामाजिक असुरक्षाका घटना अझ बढ्ने जोखिम रहेको सरोकारवालाको भनाइ छ।

