धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयका करिब चार हजार विद्यार्थीलाई शुक्रबारदेखि पोषणयुक्त दिवा खाजा दिन थालिएको छ ।
विभिन्न सहयोगी निकायको सहयोगमा धनगढी उपमहानगरपालिका–७, तिल्के चौकमा एकीकृत भान्सा सञ्चालन गरेर धनगढी उपमहानगरपालिकाको कार्यालयले २१ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोषणयुक्त दिवा खाजा दिन थालेको हो ।
वडा नम्बर १ देखि ८ सम्मका २१ वटा सामुदायिक विद्यालयका तीन हजार ७९५ विद्यार्थीलाई यो सुविधा उपलब्ध गराइएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । ११ वटा आधारभूत र १० वटा माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा दिइरहेको जनाइएको छ ।
खाजा बनाउनका लागि धनगढी उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ नामक गैरसरकारी संस्थासँग दुई वर्षको ठेक्का सम्झौता गरेको छ । धनगढी उपमहानगरपालिकाको आन्तरिक स्रोत, विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको सहयोगमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको हो । एकीकृत खाजा कार्यक्रममा दुई करोड ४५ लााख ३३ हजार रुपियाँ खर्च हुने जनाइएको छ ।

