धनगढी: कैलालीको धनगढीमा निम्न आय भएका तथा उद्यमशील बन्न इच्छुक महिलालाई लक्षित गर्दै निःशुल्क तीनमहिने सिलाइकटाइ तालिम सुरु गरिएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित अनु बुटिक एण्ड ट्रेनिङ सेन्टरले ११ जना महिलालाई लक्षित गरी सञ्चालन गरेको तालिमको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। तालिमको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले गर्नुभयो।
उद्घाटन कार्यक्रममा अध्यक्ष ओझाले महिलाको सीप विकास र स्वरोजगार प्रवर्द्धनमा अनु बुटिक एण्ड ट्रेनिङ सेन्टरले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई कैलाली उद्योग वाणिज्य संघको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिममा धनगढी उपमहानगरपालिका–८ र १२ का ११ जना महिलाको सहभागिता रहेको छ। कार्यक्रममा बोल्दै वडा नम्बर १२ का अध्यक्ष सेरबहादुर महराले निम्न आय भएका महिलालाई निःशुल्क सीपमूलक तालिमको अवसर उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमसँग सहकार्य गर्ने बताउनुभयो।
त्यसैगरी वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरीले सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर र उद्यमी बन्न प्रेरणा दिने उल्लेख गर्दै तालिम पूरा गरेपछि धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्ने सीप तथा रोजगार मेलामार्फत थप उन्नत (एड्भान्स) तालिम लिन सहभागीलाई आग्रह गर्नुभयो।
अनु बुटिक एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका पार्वती ऐडीले निम्न आय भएका तथा हिंसापीडित महिलालाई लक्षित गरी सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यसपटक पनि ११ जना महिलालाई पूर्ण रूपमा निःशुल्क तालिम प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले तालिमपछि सहभागीलाई रोजगारी तथा उद्यमशीलतासँग जोड्न आवश्यक सहकार्यसमेत गरिने बताउनुभयो। तीन महिनासम्म सञ्चालन हुने तालिमबाट महिलाको सीप अभिवृद्धि, आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

