बैतडी: साउन महिना सुरु भएसँगै बैतडीका मन्दिरमा आस्थाका बत्ती बल्न थालेका छन्। बिहानैदेखि मन्दिर पुग्ने भक्तजन, साँझपख बल्ने दियो र रातभर गुञ्जिने भजनकीर्तनले जिल्लाका धार्मिकस्थलमा विशेष रौनक थपिएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा साउनलाई ‘बत्ती बाल्ने महिना’का रूपमा लिने परम्परा छ। यस अवधिमा देवीदेवताका मन्दिर तथा शक्तिपीठमा बत्ती बाल्ने, पूजाआजा गर्ने, भजनकीर्तन गर्ने र रातभर जाग्राम बस्ने चलन रहिआएको छ।
दशरथचन्द नगरपालिका–१ का स्थानीय संस्कृतिविद् पण्डित धर्मानन्द भट्टले भन्नुभयो, “साउन सुरु भएपछि मन्दिरमा जाग्राम बस्ने, भजनकीर्तन गर्ने र विशेष पूजाआजा गर्ने परम्परा छ। त्यसैले यस महिनालाई ‘बत्ती बाल्ने महिना’का रूपमा लिने गरिन्छ।” साउनलाई भगवान् शिवको प्रिय महिना पनि मानिन्छ। यही धार्मिक विश्वासका कारण शिवालय तथा शक्तिपीठमा यस अवधिमा भक्तजनको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको छ। मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने जनविश्वासका कारण टाढाटाढाबाट पनि दर्शनार्थी आउने गर्छन्।
सूर्नया गाउँपालिका–३ का ज्योतिष लवदेव भट्टका अनुसार धार्मिक आस्था राख्नेहरू साउन महिनाभर मन्दिरमा पुगेर बत्ती बाल्ने, पूजापाठ गर्ने र भजनकीर्तनमा सहभागी हुने परम्परा अझै जीवित छ।
साउनमा गाउँ फर्किने चलन
रोजगारी तथा अन्य कारणले जिल्ला बाहिर बसेका धेरै व्यक्ति पनि साउनमा गाउँ फर्कने गरेका छन्। कुलदेवता, शक्तिपीठ र स्थानीय मन्दिरमा पूजाआजा गर्ने अवसरका रूपमा साउनलाई लिइने भएकाले गाउँघरमा पनि चहलपहल बढ्ने गरेको छ। स्थानीय चन्द्रसिंह ऐरका अनुसार रातभर जाग्राम बस्ने, भजनकीर्तन गर्ने र मन्दिरमा बत्ती बाल्ने परम्पराले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
तीर्थस्थलमा भक्तजनको घुइँचो
बैतडी धार्मिक दृष्टिले महत्त्वपूर्ण जिल्ला मानिन्छ। यहाँ रहेका एक दर्जनभन्दा बढी प्रसिद्ध तीर्थस्थलमा साउन महिनाभर भक्तजनको भीड लाग्ने गर्छ। सूर्नया गाउँपालिकास्थित रौलाकेदार धाममा साउन सुरु भएसँगै दर्शनार्थी आउन थालेका छन्। मन्दिरका पुजारी विष्णुदत्त भट्टका अनुसार महिनाभरि यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ। स्थानीय दिनेशप्रसाद भट्टका अनुसार रौलाकेदारको दर्शन गरे बद्री–केदारको दर्शन गरेसरह फल प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण साउनभरि यहाँ भक्तजनको आवागमन बढ्ने गरेको हो।
सिगास गाउँपालिकास्थित सिगासधुरा धामलाई भगवान् शिवको बासस्थान मानिन्छ। साउनमा यहाँ पनि दर्शनार्थीको उल्लेख्य भीड लाग्ने गर्छ। यसैगरी त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती, उदयदेव, शिवनाथ, ग्वाल्लेक केदार, जगन्नाथ, ईश्वरी गंगाधाम, देवताल, दोगडाधाम र महारुद्रलगायतका धार्मिकस्थलमा पनि साउनभर भक्तजनको चहलपहल बढ्ने गरेको छ।
सीमापारसम्म फैलिएको आस्था
दशरथचन्द नगरपालिकास्थित त्रिपुरासुन्दरी मन्दिरको धार्मिक महत्त्व नेपालमा मात्र सीमित छैन। भारतका कुमाउँ र गढवाल क्षेत्रबाट पनि यहाँ दर्शन गर्न भक्तजन आउने गरेका छन्। निङ्गलाशैनी भगवती, डिलाशैनी भगवती, मेलौली भगवती, सिगास केदार, खुम्ट भगवती, देउलाहाट र रौलाकेदार पनि बैतडीका प्रमुख धार्मिकस्थलका रूपमा परिचित छन्।
गुफासँग जोडिएको धार्मिक विश्वास
स्थानीय जनविश्वासअनुसार दशरथचन्द नगरपालिकास्थित जगन्नाथ मन्दिरको गुफाबाट पठाइएको दूध वा धुवाँ ईश्वरी गंगाधामको गुफाबाट निस्कने गर्छ। यस्तै सुर्नया गाउँपालिकामा रहेका पत्ताभूमेश्वर र वासुलिङ मन्दिरबीच पनि धार्मिक सम्बन्ध रहेको विश्वास गरिन्छ। जगन्नाथ मन्दिरमा दैनिक पूजा हुने गरेको छ भने औँसी, पूर्णिमा र सङ्क्रान्तिमा विशेष पूजाआजा गरिन्छ। चैत र असोजको नवरात्र तथा मङ्सिर पूर्णिमामा यहाँ विशेष मेला लाग्ने गर्छ, जसलाई स्थानीयले ‘जात’ भन्ने गरेका छन्।
नदी किनारमा रहेको ईश्वरी गंगाधामलाई जगन्नाथ मन्दिरको मूल स्थान मानिन्छ। यहाँ माघे सङ्क्रान्ति र वैशाख सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ। साउन महिनामा बैतडीका धार्मिकस्थलमा बल्ने बत्ती केवल धार्मिक अनुष्ठान मात्र नभई पुस्तौँदेखि चल्दै आएको आस्था, संस्कृति र परम्पराको निरन्तरता पनि हो।गोरखापत्रबाट

