कैलाली । नयाँ सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तीव्र संवाद र छलफल गरिरहेको छ। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो श्रीलंकाबाट फर्किएलगत्तै आज सत्ता समीकरणबारे पार्टीभित्रका केही नेतासँग निर्णायक छलफलमा जुटेका हुन्। ‘आज संयोजकज्यू, सहसंयोजकलगायतका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ,’ नेकपाका एक नेताले भने, ‘उहाँ (प्रचण्ड) सत्ता समीकरणबारे निर्णायक छलफलमा जुट्नुभएको पाएका छौँ।’
देशभर कांग्रेस–एमाले गठबन्धन टुट्न सुरु भएपछि नेकपाले पनि दुवै दलसँग संवाद सुरु गरिरहेको थियो। प्रचण्डलाई एमाले र कांग्रेस दुवै दलबाट सत्ता सहकार्यको प्रस्ताव आए पनि उनले निकट नेताहरूलाई कांग्रेस, नेकपा र एमालेसहितको गठबन्धन बनाउने प्रयास गर्न भनिरहेका थिए। एमाले र नेकपा तीनदलीय गठबन्धन बनाउन तयार भए पनि कांग्रेसले भने तीनदलीय गठबन्धन बनाउने प्रयासमा आफूहरू नलाग्ने बताइसकेको छ। कांग्रेसले यसअघि पनि प्रचण्ड र ओलीलाई यही निष्कर्ष सुनाइसकेको थियो।
‘प्रदेशमा तीन पार्टी मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार गरिसकेका छौँ,’ कांग्रेस सभापति थापाले हिजो पनि एक सार्वजनिक कार्यक्रममा भनेका थिए। कांग्रेस तीनदलीय गठबन्धनमा नजाँदा पार्टीभित्रै नेकपा र एमालेबीचको एकतासम्मै जाने गरी सत्ता सहकार्य गर्न बढी दबाब देखिएको नेकपाका अर्का एक नेताले बताए। ‘अहिले त्यही मोडालिटीअनुसार घटनाक्रम विकसित भइरहेको छ,’ उनले भने।
प्रचण्ड श्रीलंकामा रहँदा माधव नेपालले वर्षमान पुन र प्रमेश हमाललाई गठबन्धनबारे संवाद गर्ने जिम्मेवारी दिएका थिए। उनीहरूले एमाले अध्यक्ष ओलीसँग लामो छलफल गरे पनि कांग्रेससँग त्यस ढंगको छलफल हुन सकेको छैन। प्रचण्ड हिजो नेपाल फर्किएलगत्तै दुई नेताले गरेका संवादसहितको अवस्थाबारे छलफल गर्न आज माधवकुमार नेपालसहितका नेताहरू जुटेका हुन्। प्रचण्डले आज माधव नेपाल, प्रमेश हमाल, वर्षमान पुन, बेदुराम भुसाललगायतका नेताहरूसंग बसेर गठबन्धनबारे टुंगो लगाउने तयारी गरिरहेका छन् । उनीहरूसँगको भेट र समीकरणबारेको छलफल पछि पार्टीका अन्य नेताहरूलाई यस विषयमा जानकारी गराउने पनि नेकपाले जनाएको छ ।
‘सत्ता सहकार्यबारे नेताहरूले आ–आफ्नो धारणा बनाइरहनुभएको होला, तर पार्टीभित्र साझा ढंगले कुरा भएको छैन,’ नेकपा स्रोतले भन्यो, ‘आजको छलफलपछि त्यसले आधिकारिकता र तीव्रता पाउँछ। ’ एमालेसँगै मिलेर जाने कुरामा सबैको जोड रहेको बताइए पनि त्यस विषयमा साझा धारणा बन्न बाँकी छ। ‘संयोजक कमरेड र सहसंयोजक कमरेडबीच सहमति भएपछि त्यसको टुंगो लाग्ने कुरा छ,’ स्रोतले जनाएको छ। नेकपा स्रोतका अनुसार अहिले एमाले अध्यक्ष ओली सहकार्यका लागि सकारात्मक छन्। ओलीले नेकपाका केही नेताहरूलाई त्यसको संकेत दिइसकेका छन्। आज ओलीको संकेत र नेकपाको रणनीतिबारे पनि नेताहरूबीच संवाद हुने जनाइएको छ।
‘कर्णाली प्रदेशमा कांग्रेसलाई नेकपाले समर्थन गरेपछि अहिले केही समस्या भएको हो। तर नेतृत्व तहबाट यसलाई पनि मिलाउन सकिनेबारे छलफल भएको छ,’ नेकपा स्रोतले भन्यो। नेकपाले कर्णालीमा समर्थन फिर्ता लिएर एमालेसँग सहकार्य गर्ने वा एमालेसँगको सहमतिअनुसार कांग्रेसलाई नै नेतृत्व दिएर जाने भन्ने विषयमा पनि आज शीर्ष नेताहरूबीच छलफल हुने जनाइएको छ।
नेकपाका नेता झलनाथ खनालले यसअघि नै कांग्रेससँग सहकार्य नगर्न पार्टीलाई सुझाव दिइसकेका थिए। जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्ने माग खनालले गरेका छन् । वामपन्थीहरूले आपसका आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल गर्नुपर्नेमा पनि खनालले जोड दिएका छन्।

