धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तर वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँच जिल्लामा सार्वजनिक सवारी साधनको आवागमन रोकिएको छ।
डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र बाजुरा जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका हुन्। मौसममा आएको प्रतिकूलतासँगै भारी वर्षाको पूर्वानुमान र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासन कार्यालयहरूले जनाएका छन्।
बाजुरा प्रशासनले शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको र पछिल्लो मौसमी अवस्था अनुसार जिल्ला उच्च जोखिममा रहेकाले जिल्लाभर सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी डारेन्द्र निरौलाका अनुसार असोज ११ गते बिहान ७ बजेसम्म आकस्मिक अवस्थाबाहेक सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको छ।
निरन्तर वर्षाका कारण सम्भावित विपद् निम्तिन सक्ने भन्दै बाजुरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ। विपद्को समयमा परिचालन हुने कर्मचारी, स्वयंसेवक, उद्धार टोली र आवश्यक उपकरण तयारी अवस्थामा राख्न जिल्लाका नौवटै स्थानीय तहलाई निर्देशन दिइएको छ।
प्रशासनका अनुसार ‘विपद् प्रतिकार्य योजना–२०८३’ ले बाजुराका एक सय ५० भन्दा बढी गाउँ तथा नौवटै स्थानीय तहलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ। लगातारको वर्षाले जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ।
यस्तै, डडेल्धुरामा बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ। दार्चुलामा आजदेखि भोलि बिहान ६ बजेसम्म तथा डोटी र बैतडीमा बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको सम्बन्धित प्रशासन कार्यालयले जनाएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ट उपरिक्षक पदम विष्टले वर्षाको जोखिमलाई मध्यनजर गर्दै लामो दूरीका रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । उनले बढी जोखिम भएका क्षेत्रमा पूर्वतयारी थालिएको बताए । बाढी तथा पहिरोको जोखिममा रहेका क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न नेपाल प्रहरील गायत सुरक्षा निकायले पहल गरिरहेको बताए । उद्धारका लागि आवश्यक जनशक्ति र स्रोत साधन समेत तयारी अवस्थामा राखिएको छ ।

