धनगढी: कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई भन्सार विभागले जिम्मेवारीबाट फिर्ता बोलाएको छ। भन्सार पास भएर आएको भारतीय गाडी कैलालीमा नियन्त्रणमा लिएको विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख प्रहरी उपरीक्षक खुमबहादुर केसीसँग विवाद भएपछि थप अनुसन्धानका लागि भट्टलाई जिम्मेवारीबाट हटाइएको हो।
भन्सार विभागले घटनासँग सम्बन्धित सार्वजनिक भएका विवरणबारे थप बुझ्नुपर्ने र वस्तुस्थिति अनुसन्धान गर्नुपर्ने भएकाले भट्टलाई गड्डाचौकी भन्सार कार्यालयबाट फिर्ता बोलाएको जनाएको छ। उनलाई काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचारसमेत गरिएको छ। भट्ट र एसपी केसीबीच भएको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि घटना बाहिर आएको थियो। सार्वजनिक अडियोमा भट्टले गड्डाचौकी भन्सारबाट प्रक्रिया पूरा गरी पास भइसकेको भारतीय गाडी कैलालीमा किन नियन्त्रणमा लिएको भन्दै केसीसँग प्रश्न गरेका छन्।
उनले नियन्त्रणमा लिइएको गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन आग्रह गर्दै गाडी नछाडिए गृहमन्त्री, प्रहरी महानिरीक्षक र भन्सार विभागका प्रमुखलाई जानकारी गराउने चेतावनी दिएका छन्। केसीले भने भारतीय गाडी भएकाले नियन्त्रणमा लिएको र सामानको मूल्यांकन कम गरिएको हुनसक्ने आशंकाका आधारमा कारबाहीका लागि भन्सार कार्यालयमा पठाउन लागिएको बताएका छन्। त्यसपछि भट्टले गाडी भन्सार कार्यालयमा पठाउनुपर्ने भए पनि बाटोमा व्यवसायीलाई दुःख दिन नहुने बताएका छन्।
अडियो संवादमा भट्टले कञ्चनपुरबाट जाने सामानलाई बाटोमा दुःख दिने गरिएको आरोप लगाउँदै गाडीमा सामानको परिमाण फरक पारेर पठाइएको पाइए प्रहरीका उच्च अधिकारी र भन्सार विभागका प्रमुखलाई जानकारी गराउने चेतावनीसमेत दिएका छन्। गाडी नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको विषयमा पनि भट्टले प्रश्न गरेका छन्। उनले ‘त्यो कुनै आतंकवादी थियो र सररु’ भन्दै प्रश्न गरेको अडियोमा सुनिन्छ। त्यसको जवाफमा केसीले त्यस्तो नभएको बताएका छन्।
भट्टले ‘महेन्द्रनगरमा नसमात्ने, यहाँ स्थानीयले नसमात्ने अनि त्यहाँ गएर कसरी समातियो?’ भन्दै प्रश्न गर्दै ‘पैसा नपाएपछि समातिएको होइन सर?’ समेत भनेका छन्। त्यसको जवाफमा केसीले ‘पैसा पाएको नपाएको त तपाईंहरूलाई थाहा होला’ भनेका छन्। प्रहरी स्रोतका अनुसार भट्टले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हीरा सिंह महरालाई समेत फोन गरी स्पष्टीकरण सोध्ने र कारबाही गर्ने भन्दै चर्को स्वरमा कुरा गरेका थिए।
के हो प्रकरण?
यो विवाद अत्तरियामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय गाडी नियन्त्रणमा लिएपछि उत्पन्न भएको हो। प्रहरी स्रोतका अनुसार यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडी टायर, ट्युबलगायतका सामानसहित अत्तरियामा नियन्त्रणमा लिइएको थियो। उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयबाट भन्सार प्रक्रिया पूरा गरी आएको थियो।
भन्सारबाट सामानको कम मूल्यांकन गरी पास गरिएको भन्ने सूचनाका आधारमा संयुक्त टोलीले गाडी नियन्त्रणमा लिएको प्रहरी स्रोतको दाबी छ। करिब २६ लाख रुपैयाँ बराबरको सामान रहेको भनिएको उक्त गाडी नियन्त्रणमा लिएपछि कैलाली भन्सार कार्यालयमा बुझाइएको थियो। कैलाली भन्सारले जाँच गर्दा अन्डर बिलिङ नदेखिएको भन्दै गाडी गड्डाचौकी भन्सार कार्यालयमा पठाएको बताइएको छ। त्यसपछि गड्डाचौकी भन्सार कार्यालयले सम्बन्धित व्यवसायीलाई नै सामान फिर्ता गरेको जनाइएको छ।
भन्सार अधिकृत भट्टले भने भन्सार प्रक्रिया पूरा गरी पास भइसकेको सामान पुनः नियन्त्रणमा लिएर व्यवसायीलाई अनावश्यक दुःख दिइएको बताएका छन्।

