सुदुरपश्चिम। दसैँ लगायतका चाडको मेसोमा नयाँ ठाउँ घुम्ने र स–परिवार आन्तरिक पर्यटकको आनन्द लिने चलन पछिल्ला केही वर्षयता बढ्दो छ। त्यस बाहेक नेपालमा घुम्न सबैभन्दा सही मौसम हुने भएकाले विदेशी पर्यटकहरू पनि कार्तिक, मङ्सिरमा नेपालमा आउन मन पराउँछन्।
वि.सं. २००७ साल (सन्१९५१) पछि विदेशी पर्यटकहरूका लागि नेपाल भ्रमण खुला गरिएको थियो । त्यसयताका साढे सात दशकको अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ । नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन र रोजगारी प्रवर्द्धनका हिसाबले महत्त्वपूर्ण मानिन्छ। यस हिसाबले नेपालको राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको महत्त्वपूर्ण भूमिका रहेको छ।
नेपाल सांस्कृतिक र धार्मिक विविधताले भरिएको देश हो । यहाँका विभिन्न जातजातिको परम्परा, भेष भूषा, धर्म, रहनसहनअनुसार भिन्नाभिन्नै मौलिक संस्कृति र विशेषताहरू छन्। जसबाट प्राचीन मानिसहरूको परम्परा, शैली, रहनसहन बुझ्न सकिन्छ । नेपाल भ्रमण गर्ने लाखौँ पर्यटकहरूलाई आकर्षण गर्न सक्ने सांस्कृतिक तथा धार्मिक सम्पदा नेपालमा विद्यमान छन्।त्यसैले यहाँ पर्यटनका प्रचुर सम्भावना बोकेका नेपालको सुदूरपश्चिम प्रदेशमा पहिचान भएका केही धार्मिकस्थलहरुको चर्चा गर्दैछौँ जुन तपाइको दसैँ लक्षित घुमघामका लागि उपयुक्त हुनसक्छ। यो प्रदेशका अधिकांश धार्मिक स्थल उच्च पहाडी भेगमा अवस्थित रहेकाले तीर्थयात्रा सँगसँगै पदयात्रा तथा पर्वतारोहणको मज्जा लिन सकिन्छ । यस्तो सम्भावना रहेकोले धार्मिक पर्यटन मात्र नभएर फरक उद्देश्यले भ्रमण गर्ने पर्यटकहरूलाई पनि यो प्रदेशले आकर्षण गर्न सक्ने देखिन्छ ।
त्रिपुरा सुन्दरी मन्दिर- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी स्थित दशरथ चन्द नगरपालिका वडा नं.८ मा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर १४/१५ औं शताब्दीतिर स्थापना भएको मानिन्छ। यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट पश्चिम दिशामा करिब ३ कि.मि.टाढा अवस्थित छ। जिल्ला सदरमुकामबाट त्यहाँ पुग्न गाडीबाट १५–२० मिनेट र पैदल लगभग १ घण्टा समय लाग्दछ। यहाँ पुग्ने पक्की सडक छ। जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो गोठालापानी हुँदै सुन्दर खाली त्रिपुरा सुन्दरी हो । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग हुँदै करिब १० घण्टा लाग्छ भने विकल्पमा काठमाडौँदेखि धनगढीसम्म ७० मिनेट हवाई यात्रा गरी त्यहाँबाट १७६ कि.मि उत्तर पश्चिम यात्रा गरेर बैतडी पुग्न सकिन्छ । जिल्ला सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिमतर्फ गोठालापानी–झुलाघाट सडक खण्डको छेउमा रहेको उक्त मन्दिर रणशैनी भगवतीको नामले समेत चिनिन्छ ।
मेलौली भगवती मन्दिर- मेलौली भगवती मन्दिर सात बहिनी भगवती शक्ति पीठमध्ये एक मानिन्। धनगढीबाट बैतडी जिल्लाको सदरमुकामसम्मको दुरी २१४ कि.मि रहेको छ । यसको अवस्थिति बैतडी पाटन नगरपालिकाबाट दक्षिण पश्चिममा करिब ३३ किमीको दुरीमा छ ।यस मन्दिर परिसरको जग्गाको क्षेत्रफल १ सय ३४ रोपनी छ। विशाल दुवोचौरमा आकर्षक शिखर शैली भित्र पर्ने प्यागोडा शैलीमा निर्मित यस मन्दिर जनश्रुति अनुसार १८ औँ शताब्दी तिर निर्माण गरिएको हो। प्रसिद्ध शक्ति पीठका रुपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको दिन हुने गर्छ। पछिल्लो समय सडक सञ्जालसँग जोडिएपछि भक्तजनलाई यहाँ पुग्न सजिलो भएको छ। जिल्ला सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य सडक गोठालापानी, पाटन, सलेना, मेलौली हो।
खप्तड क्षेत्र- सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलमा अवस्थित खप्तड क्षेत्र २२५ वर्ग कि।मि। क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहदेखि २४०० देखि २७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बिचमा १२,००० फिट अग्लो खप्तड लेक रहेको छ ।पचास वर्ष पहिले महान् दार्शनिक, चिकित्सक, वैज्ञानिक र ज्योतिषका रुपमा प्रख्यात खप्तड बाबाले तपस्या गरेको यस स्थानमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी र सोको वरिपरि २२ वटा पाटन र ५३ वटा थुम्काहरू समेत रहेका छन्।यस क्षेत्रमा लाग्ने विभिन्न सांस्कृतिक मेलामध्ये गङ्गा दशहरा मेलामा हजारौँ तीर्थयात्री भेला हुने गर्दछन्। मेलामा सुदूरपश्चिमको प्रसिद्ध हुड्के नाच र देउडा हेर्न लाखौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक जम्मा हुने गर्दछन्।
परशुराम धाम-स्कन्दपुराणको मानस खण्डमा उल्लिखित ‘सबै तीर्थ पटक–पटक, परशुराम धाम एक पटक’ भन्ने भनाइले नै परशुराम धामको धार्मिक महत्त्व दर्साउँछ । डडेलधुरा जिल्लाको दक्षिण–पश्चिम तथा डडेलधुरा तथा कञ्चनपुर जिल्लाको सिमानामा अवस्थित परशुराम धाम डडेलधुरा बजारदेखि करिब १०० कि.मि. टाढा रहेको छ ।यो अत्तरिया– डडेलधुरा ९भीमदत्त पन्त राजमार्ग० को बुडर, डोटी देखि करिब ४२ कि।मि। टाढा रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो पवित्र तीर्थस्थल क्षेत्र एला र श्यामा नदीको सङ्गममा अवस्थित रहेको छ । परशुराम धाम साबिकका शीर्ष र जोग बुढा गाँउविकास समिति मिलाएर बनेको परशुराम नगरपालिकाको वडा नं। ५ मा रहेको छ । यस क्षेत्रमा यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ । यहाँ हुने रथ पूजनको विशेष महत्त्व रहेको छ । विष्णु कुण्डमा विष्णु, वामदेव कुण्डमा शिव, परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदी तटमा रहेको शिवलिंगमा शिव पूजनको विशेष महत्त्व रहेको छ ।
उग्रतारा मन्दिर- उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमकै ठूलो तथा प्रसिद्ध शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरादेखि ४ किलोमिटर पश्चिमपट्टि रहेको छ । यो मन्दिरलाई नेपालको सुदूरपश्चिमका नौ भगवती मन्दिरहरूमध्ये एक मन्दिर मानिन्छ । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५ कि।मि। टाढा डडेलधुरा, बैतडी राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा रहेको छ ।यस उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो जात्रा लाग्ने गर्दछ । वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवी प्रकोप नहुने, सुख प्राप्ति हुने, मनोकामना पुरा हुने जनविश्वास छ ।
सिद्धनाथ मन्दिर- चन्द्रेश्वर महादेव (सिद्ध बाबा) को स्थान माता पूर्णागिरीका सामुन्ने दक्षिण दिशामा रहेको छ । माता पूर्णागिरी र सिद्धबाबाको पुण्य स्थलमा करिब ३ देखि ४ कि.मी.को लम्बाइसम्म महाकाली नदी मौनब्रत धारण गरेर शान्त धारामा बाह्रै महिना अविराम बगिरहेकी छिन्।यो ठूलो नदी, माता र बाबाको क्षेत्रमा बाधा नपुर्याई शान्त बगिरहनु पनि धेरै ठूलो चमत्कार हो भन्ने विश्वास छ। शिव र शक्तिको यस्तो अनुपम संयोग र मनोहर दृश्य सर्वत्र देख्न पाइँदैन । पूर्णागिरी माताको स्थानमा भक्तजनहरूले बजाइराखेको शङ्ख–घण्टीहरूको ध्वनि सिद्धबाबाको स्थान नजिकै स्पष्ट सुनिन्छ । वि।सं। २०४८ सालमा श्री सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रह्मदेवको विधिवत् स्थापना भई मन्दिरको संरक्षण र सम्वद्र्धनको काम गरिरहेको छ । उक्त समितिले मन्दिरको भूमिको व्यवस्थापन र संरक्षणका साथै बजार व्यवस्थापन, वृहत् यज्ञशाला, यज्ञ मण्डप, धर्मशाला, शौचालय, स्नान गृह तथा स्थानीय स्तरका बाटोहरूको निर्माण र जेहेन्दार छात्र–छात्राहरूलाई छात्रवृत्ति समेत प्रदान गरिरहेको छ ।
मालिकार्जुन मन्दिर-दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित राष्ट्रकै सातौँ धाम शिखर मालिकार्जुन धामको मन्दिर रमणीय तथा धार्मिक पर्यटकीय स्थल हो ।मालिकार्जुन मन्दिर सदरमुकाम खलङ्गाबाट ५० किलोमिटरको सडक दुरीमा रहेको छ । शिवपुराण लगायत विभिन्न पौराणिक धार्मिक ग्रन्थहरूमा देवाधिदेव महादेवका १२ ओटा ज्योतिर्लिङ्ग मध्ये एउटा ज्योतिर्लिङ्ग रुपमा मालिकार्जुन मानिएको छ ।मालिकार्जुन मन्दिर भगवान शिवलाई देवाधिदेव महादेवका रुपमा लिइने भएकोले मालिकार्जुनको वासस्थानलाई देवताहरूको राजधानी पनि भनिन्छ । धार्मिक एवं पुरातात्त्विक महत्वले भरिपूर्ण मालिकार्जुन मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजनहरू आउने र पूजाआजा गर्ने गर्दछन्।नेपाल सरकारले बि. स.२०६५ सालमा राष्ट्रकै सातौँ धाम भनेर घोषणा गरेको जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन मन्दिरमा विशेष गरी भदौमा गौरा पर्व र कार्तिक, मङ्सिर महिनामा विशाल जात्रा लाग्ने गरेको छ।
शैलेश्वरी मन्दिर-सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक ऐतिहासिक तथा पर्यटकीय तीर्थस्थल शैलेश्वरी मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगरपालिका वडा नं। १ शैलेश्वरीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमा रहेको छ । शैलेश्वरी मातालाई साक्षात् देवीको उपमा दिइन्छ। यो मन्दिरलाई नेपालको सुदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । यहाँ प्रत्येक १२ वर्षमा कोटी हवन महायज्ञ लाग्ने गर्छ । यहाँ १ सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ। प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ । शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरू पनि छन् । जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मस्टा मन्दिर र चण्डेश्वरी मन्दिर रहेका छन्। यो मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्छ । यहाँ पूजा गरे मनोकामना पुरा हुने विश्वास रहेको छ ।
बेहडाबाबा मन्दिर-कैलाली जिल्लाको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको बेहडाबाबा मन्दिर धनगढी उपमहानगरपालिका – १६ स्थित रामपुर गाउँमा रहेको छ । धनगढीबाट बेहडाबाबा मन्दिर पुग्नको लागि कच्ची र पक्की बाटो गरी करिब १७ किमीको यात्रा गर्न गाडीमा करिब ४५ मिनेट समय लाग्ने गरेको छ ।करिब २ हेक्टर क्षेत्रफल मन्दिरमा तथा करिब ३६ हेक्टरमा महादेव ताल र वन क्षेत्र ओगटेको नेपाल र भारतका दर्शनार्थीहरुको आस्थाको धरोहरको रुपमा परिचित यस मन्दिरमा दुवै देशका दर्शनार्थीहरुले दर्शन गर्दै आएका छन्। बेहडाबाबा मन्दिरमा वर्षभरि नित्य पूजा (बिहान र बेलुका) हुने गरेको भएता पनि सोमबार र शनिवार उल्लेख्य संख्यामा भक्तजनहरूको उपस्थिति हुने गरेको छ। बेहडाबाबालाई भारतीयहरूले कुल देवताको रुपमा मान्ने गरेका छन् । तसर्थ, यस क्षेत्रमा लाग्ने गंगादशहरा, महाशिवरात्रि, माघे सङ्क्रान्ति, दसैँ र चैते दसैँ मेलामा भारतीय पर्यटक सबैभन्दा बढी दर्शन गर्न पुग्छन्। मन्दिर व्यवस्थापन समितिका अनुसार स्वदेशी र विदेशी गरी वार्षिक करिब ५–६ लाख जतिले बेहडाबाबाको दर्शन गर्ने गरेका छन् ।