धनगढी । पछिल्लो समय नेपाली राजनीतिमा शक्ति, पहुँच र लाभ केन्द्रित अभ्यास हावी हुँदै गएको छ। नेताको नजिक भएर योजना झिक्ने, सरकारी नियुक्ति लिने, प्रभाव विस्तार गर्ने वा निजी स्वार्थ पूरा गर्ने उद्देश्यले राजनीतिमा लाग्ने प्रवृत्ति बढ्दो छ। तर यस्तै भीडभाडको राजनीतिभित्र पनि केही अनुहार छन्, जसले राजनीति लाभका लागि होइन, सेवाका रूपमा बाँचिरहेका छन्। त्यस्तै निस्वार्थ र इमानदार राजनीतिक यात्राको नाम हो— बिष्णु चन्द। हाल नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सचिवालय सदस्य रहेका चन्दले झण्डै तीन दशकदेखि पार्टी र आन्दोलनमा निरन्तर योगदान दिँदै आएका छन्। तर, यो लामो राजनीतिक यात्रामा उनले न त कुनै लाभको पद लिएका छन्, न त शक्ति केन्द्रमा पुगेका छन्।
बाल्यकालदेखि सामाजिक सेवाको सोच
वि.सं. २०३८ साल जेठ महिनामा बैतडी जिल्लाको ढुंगाड गाउँपालिका (साविक ढुंगाड गाबिस) वडा नम्बर ७ मा बुवा उद्धव चन्द र आमा कलावती चन्दको सुपुत्रका रूपमा जन्मिएका बिष्णु चन्द सानैदेखि सामाजिक सेवाप्रति आकर्षित थिए। कक्षा ७ सम्म गाउँकै विद्यालयमा अध्ययन गरेका उनले २०५० सालमा धनगढी आएर सारदा माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरे। त्यसपछि चौमालाको मालिका उच्च माध्यमिक विद्यालयमा भर्ना भएसँगै उनले विद्यार्थी राजनीतिमा पाइला टेके। यही समयदेखि उनको राजनीतिक यात्रा औपचारिक रूपमा सुरु भएको हो।
विद्यार्थी राजनीतिबाट संगठन निर्माणसम्म
२०५३ सालमा विद्यार्थी राजनीतिमा सक्रिय भएका चन्दले कैलाली बहुमुखी क्याम्पसबाट उच्च शिक्षा र स्नातक तह उत्तीर्ण गरे। समाजशास्त्र विषयमा स्नातकोत्तर तह पूरा गरेका उनी क्याम्पस जीवनमै राजनीतिक रूपमा परिपक्व बन्दै गए। त्यतिबेला कैलालीमा एमालेको विद्यार्थी संगठन कमजोर अवस्थामा रहे पनि चन्दले संगठन निर्माणमा अग्रसर भूमिका खेले। क्याम्पस प्रारम्भिक कमिटीको सचिव र अध्यक्ष हुँदै उनले विद्यार्थीलाई एमालेतर्फ संगठित गर्न महत्वपूर्ण योगदान दिए। पछि उनी अनेरास्ववियु कैलाली जिल्ला कोषाध्यक्ष बने। तत्कालीन अध्यक्ष दीर्घ सोडारी र सचिव रणबहादुर चन्दको कार्यकालमा कोषाध्यक्ष रहेका चन्द त्यसपछि उपाध्यक्ष, केन्द्रीय सदस्य र सेती अञ्चल इन्चार्जसमेत बने।
आन्दोलन, गिरफ्तारी र जीवन–मरणको संघर्ष
२०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा चन्द विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा थिए। धनगढीमा आन्दोलन चर्किँदा उनी प्रहरीसँगको झडपमा घाइते भए भने पक्राउसमेत परे। २०६५ सालको स्ववियु निर्वाचनमा उनी कैलाली बहुमुखी क्याम्पसको सभापतिका उम्मेदवार थिए। चैत ११ गते चुनावका दिन अखिल र अखिल क्रान्तिकारीबीच भएको झडप नियन्त्रण गर्ने क्रममा चन्दको टाउकोमा इट्टा प्रहार भयो। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगेर जटिल उपचार गरियो। टाउकोको बीच भागमै गहिरो चोट लागेका चन्द “मरेर बाँचेका” नेता मानिन्छन्। उपचार सफल भयो, तर चोटका दाग आज पनि उनको टाउकोमा स्पष्ट देखिन्छन्।
संघर्षमै बितेको राजनीतिक जीवन
घटनापछि पनि चन्द राजनीतिबाट पछि हटेनन्। राष्ट्रियता, निजी विद्यालयविरुद्धका आन्दोलन, सीमा सुरक्षा अभियान, लोकतान्त्रिक आन्दोलनलगायत थुप्रै संघर्षमा उनी अग्रपंक्तिमा रहे। राजाका विरुद्ध जनतासमेत घरबाहिर ननिस्कने अवस्थामा चन्दकै नेतृत्वमा आन्दोलन सुरु भएको उनका सहकर्मीहरू सम्झिन्छन्। नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै हालसम्म निरन्तर सचिवालय सदस्य रहेका चन्दले करिब ३० वर्षको राजनीतिक यात्रामा कुनै लाभको पद नलिएको दाबी गर्छन्।
अब केन्द्रीय नेतृत्वमा पुग्ने चाहना
हाल कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधि चयन भएका चन्द यस पटक पार्टीको खुलातर्फ केन्द्रीय सदस्य बन्ने तयारीमा छन्। “हिजो केपी ओलीकै पक्षमा उभिँदा सुदूरपश्चिममा हामीजस्ता कार्यकर्ता चेपियौँ,” चन्द भन्छन्, “तर आज पनि म ओलीकै पक्षमा छु। अब इमानदार र संघर्षशील कार्यकर्ताले अवसर पाउँछन् भन्नेमा विश्वस्त छु।” उनको भनाइमा, व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन सकेको छैन। उनी भन्छन्, “हामी सडकमा उठाएका मुद्दा अब नीतिगत र कार्यान्वयन तहमा लैजान चाहन्छौँ।”
तीन दशकसम्म निस्वार्थ राजनीति गरेका चन्द आफ्नो इमानदारी, लगनशीलता र धैर्यकै आधारमा पार्टी नेतृत्वले विश्वास गर्नेमा ढुक्क छन्।


