धनगढी: आउँदो २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस गरेको छ । बिहीबार उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारको छनोट गरिएको हो । दुई उम्मेदवार छनोट गर्नुपर्ने भए पनि चार देखिएपछि कांग्रेस क्षेत्रीय समितिले निर्वाचन नै गर्नुपर्यो ।
क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएका हुन। जेन–जी युवा पुस्ताका मदन उपाध्याय १० र अर्का युवा हरेन्द्र चन्दले १६ मत पाएर सिफारिसबाट वञ्चित भएका छन् । उक्त निर्वाचन क्षेत्रमा ८४ प्रतिनिधिले मतदान गरेका थिए।समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस भएको छ। समानुपातिकतर्फ बेलडाँडीकी सगुना राना, बेलौरीकी खिना भण्डारी, राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट (होसियार) र प्रकाश पन्तसमेत सर्वसम्मत छनोट भएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि क्षेत्रबाट छनोट भएका क्षेत्रीय सभापतिसमेत रहेका गोपीप्रसाद उपाध्यायले पार्टी केन्द्रको निर्णयअनुरूप क्षेत्रबाट उम्मेदवार सिफारिस गरेर माथिल्लो समितिमा पठाएको बताए । ३ क्षेत्र रहेको कञ्चनपुरमा शुक्रबार क्षेत्र २ र ३ बाट समेत प्रतिनिधि र राष्ट्रिय सभाका लागि उम्मेदवार छनोट हुने कांग्रेसले जनाएको छ । कांग्रेसका केही निवर्तमान सांसद संसद् पुनर्स्थापनाका लागि सर्वोच्च गएका छन्, अर्कातिर १५औँ महाधिवेशन त्यसमा पनि अहिले उम्मेदवार छनोटले नेता–कार्यकर्ताहरूमा चुनाव, संसद् पुनर्स्थापना र महाधिवेशन तीनै काम एकसाथ भएकाले तीनतिरै ध्यान दिनुपरेकले नेता–कार्यकर्ताहरूलाई व्यस्त बनाएको छ ।


