काठमाडौँ। मजदुर नेता भिम ज्वाला राई नेकपा (एमाले) को केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राईलाई केन्द्रीय सदस्यमा जिताउने उद्देश्यसहित संयुक्त अभियान सुरु गरिएको छ। नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसहित विभिन्न संघ–संस्थाको सहभागितामा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। दुवै संगठनका नेताहरू समेटिएको कमिटीले प्रचार, आर्थिक संकलन तथा समन्वयका लागि उपसमिति समेत गठन गरेको छ।
उद्योग व्यवसायी महासंघका सचिव तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका इन्चार्ज डोलनाथ खनालले सार्वजनिक यातायात क्षेत्रका समस्या बुझ्ने नेतृत्व पार्टीमा अभाव रहेको बताए। “यातायात क्षेत्रका विज्ञ र बौद्धिक व्यक्तित्व भिम ज्वाला राईलाई पार्टीको केन्द्रीय कमिटीमा पुर्याउन साझा अभियान सञ्चालन गरेका हौँ,” उनले भने। खनालका अनुसार पार्टी नेतृत्वसँग यस विषयमा छलफल भइसकेको छ र नेतृत्व सकारात्मक देखिएको छ। “हामी राईलाई जिताएरै छाड्छौँ,” उनले दाबी गरे।
संयोजक डेकनाथ गौतमले राई मजदुरका मात्र नभई देशभरका करिब ४ लाख यातायात व्यवसायी, १३ लाख श्रमिक तथा स्वरोजगार मजदुर र उनीहरूमा आश्रित करिब ४५ लाख परिवारको प्रतिनिधि भएको बताए। उनका अनुसार इतिहासमै पहिलो पटक यातायात मजदुर र व्यवसायी संगठन एकमत भएर पार्टी महाधिवेशनमा साझा उम्मेदवार घोषणा गरिएको हो।

भेलामा उपस्थित हुँदै राईले आफू २०४६ सालदेखि निरन्तर राजनीतिक र मजदुर आन्दोलनमा सक्रिय रहँदै आएको बताए। “मजदुर आन्दोलनमै ३० वर्ष काम गरिसकेको छु। जैविक र राजनीतिक दुवै हिसाबले केन्द्रीय कमिटीमा बसेर काम गर्ने परिपक्वता हासिल गरिसकेको छु,” उनले भने। एमाले मजदुर फ्र्याक्सन कमिटीको सचिव, मजदुर इलाका कमिटी सुनसरीका सदस्य, सुनसरी जिल्ला कमिटीको तीन कार्यकाल सदस्य तथा हाल कोशी प्रदेश कमिटीको दोस्रो कार्यकाल सदस्यका रूपमा काम गरिसकेको अनुभव राईसँग छ। हाल उनी जिफन्ट राष्ट्रिय कमिटीका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्षको रूपमा कार्यरत छन्।
राईले केन्द्रीय कमिटीमा रहेर १६ वर्षसम्म मेची–महाकाली संगठन विस्तार र परिचालनमा काम गरेको स्मरण गर्दै मजदुर, जनजाति, खुला वा प्रदेश जुनसुकै क्लष्टरबाट पनि उम्मेदवार बन्न सक्ने बताए। जिफन्ट, संगठनका नेताहरू तथा पार्टीका सबै तहका नेताहरूसँग छलफल गरेर आफू अघि बढेको पनि उनले जानकारी गराए।


