धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी चुलिएको छ । प्रमुख राजनीतिक दलहरू उम्मेदवार सिफारिसको तयारीमा जुटिरहेका बेला यस क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ । नेपाली कांग्रेसबाट आरजु राणा देउवा उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ भने नेपाली कम्युनिस्टले नयाँ अनुहारलाई अघि सार्ने संकेत दिएको छ । सोही अनुसार नरबहादुर शाह (निर्मल) को चर्चा उल्लेखनीय रुपमा बढेको छ । यता, नेकपा एमालेबाट आधा दर्जनभन्दा बढी नेताहरू प्रतिनिधिसभा सदस्यको आकांक्षामा देखिएका छन् । पार्टीका प्रभावशाली र अनुभवी नेतादेखि संगठन सुदृढीकरणमा सक्रिय नेतासम्मको नाम चर्चामा आएको हो ।
एमालेबाट चर्चामा आएका प्रमुख नामहरूमा पार्टी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री नारदमुनी राना, सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्द, प्रदेश सचिवालय सदस्य नेपालु चौधरी, कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुगाँना तथा हालका प्रदेशसभा सदस्य धर्मराज पाठक रहेका छन् । रानाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसकी आरजु राणा देउवालाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएका थिए । त्यसपछि उनी बन तथा वातावरण मन्त्रीसमेत बने । २०७९ को निर्वाचनमा भने उनी कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए । यसअघि २०६४ सालमा समानुपातिक सांसद बनेका राना धनगढी नगरपालिकाका पूर्व उपमेयर समेत हुन् । अनुभव र संगठनात्मक आधारका कारण यसपटक पनि उनी बलियो दावेदारका रूपमा हेरिएका छन् ।
प्रदेश कमिटी सचिव रहेका रणबहादुर चन्दलाई एमालेभित्र सालिन, भद्र र सबैसँग समन्वय गर्न सक्ने नेताका रूपमा चिनिन्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजय भोगेका थिए । तर पार्टीभित्र उनको संगठनात्मक पकड र सामाजिक सम्बन्ध राम्रो रहेको नेताहरू बताउँछन् । यस कारण पनि उनी यसपटक प्रतिनिधिसभाको टिकट पाउने दौडमा अगाडि छन् ।
प्रदेश सचिवालय सदस्य नेपालु चौधरी पनि प्रतिनिधिसभा उम्मेदवार बन्ने चर्चामा छन् । उनी २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७९ मा पराजित बने । पार्टी संगठनमा लामो अनुभव भएका चौधरी पुनः संघीय राजनीतिमा फर्किने तयारीमा रहेको बताइन्छ । कैलाली जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुगाँना जनआधार राम्रो भएका नेताका रूपमा चिनिन्छन् । सबै क्षेत्र र समुदायसँग राम्रो सम्बन्ध बनाएका ढुगाँना संगठन विस्तारमा सक्रिय रहेका छन् । यस कारण एमालेभित्र उनी पनि बलियो उम्मेदवारको रूपमा हेरिन थालेका छन् ।
हाल प्रदेशसभा सदस्य रहेका धर्मराज पाठकको नाम पनि संघीय निर्वाचनका लागि चर्चामा आएको छ । यद्यपि उनको प्रदेशसभा कार्यकाल अझै बाँकी रहेकाले उनले हालसम्म औपचारिक रुपमा संघीय निर्वाचन लड्ने नलड्ने स्पष्ट गरेका छैनन् । तर पार्टीबाट टिकट निश्चित भए उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिन सक्ने स्रोतको दाबी छ । एमालेभित्र कैलाली क्षेत्र नम्बर ५ को टिकटका लागि आन्तरिक प्रतिस्पर्धा दिनप्रतिदिन तीव्र बन्दै गएको छ । एकातिर अनुभवी नेताहरू पुनः अवसर खोजिरहेका छन् भने अर्कोतर्फ संगठनमा सक्रिय नेताहरूले नयाँ नेतृत्वको आवश्यकता औंल्याइरहेका छन् । पार्टीको केन्द्रीय नेतृत्वले स्थानीय संगठन, चुनावी सम्भावना, जनआधार र विगतको परिणामलाई आधार मानेर टिकट वितरण गर्ने बताइएको छ ।
कैलाली ५ मा कांग्रेसबाट आरजु राणा देउवा, नेपाली कम्युनिस्ट पार्टीबाट नरबहादुर शाह (निर्मल) र एमालेबाट आधा दर्जन दावेदार देखिएपछि आगामी निर्वाचन कडा प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ । तीनै ठूला दलबाट बलिया उम्मेदवार आउने निश्चितजस्तै भएपछि मतदाता पनि उत्साहित देखिएका छन् । अब एमालेले कसलाई अन्ततः उम्मेदवार बनाउँछ भन्ने विषय पार्टीको केन्द्रीय निर्णयमा निर्भर रहनेछ । तर अहिलेको अवस्थाले कैलाली क्षेत्र नम्बर ५ लाई यसपटक पनि प्रदेशकै सबैभन्दा चासोको निर्वाचन क्षेत्रमध्ये एक बनाइदिएको छ ।


