धनगढीः कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण आजदेखि धनगढीमा सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार तथा कला–संस्कृतिको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघले जनाएको छ। महोत्सव मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी संघले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत दिएको हो। आज बिहान ११ बजे धनगढीको चौराहादेखि महोत्सव परिसरसम्म झाँकीसहित भव्य र्याली निकालिने छ भने दिउँसो २ बजे अर्थमन्त्री रामेश्वरप्रसाद खनालले औपचारिक रूपमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
करिब तीन करोड रुपैयाँ लगानीमा आयोजना भइरहेको यस महोत्सवबाट १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष पुस्करराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव अवधिभर करिब सात लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा कृषि तथा जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, इलेक्ट्रोनिकल सामग्री, होटल तथा पर्यटन, सूचना प्रविधि लगायतका ५०० वटा स्टलहरू राखिएका छन्। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले किसान, उद्यमी र व्यवसायीलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
संघका अध्यक्ष ओझाका अनुसार महोत्सवमा प्रवेशका लागि बिक्री गरिने टिकटबाट उठेको केही रकम सामाजिक क्षेत्रमा खर्च गरिनेछ। शिक्षा, स्वास्थ्य तथा विपन्न वर्गको सहयोगमा उक्त रकम उपयोग गरिने योजना रहेको उहाँले बताउनुभयो। महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक नाचगान, प्रतियोगिता, मनोरञ्जनात्मक खेलकुद तथा बालबालिकाका लागि विशेष खेल क्षेत्र समेत समावेश गरिएको छ। यसले महोत्सवलाई सबै उमेर समूहका दर्शकका लागि आकर्षक बनाउने आयोजकको विश्वास छ।
व्यवसायिक गतिविधि वृद्धि, स्थानीय उत्पादनको बजार विस्तार, रोजगारीका अवसर सिर्जना तथा सुदूरपश्चिमको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्यका साथ आयोजना गरिएको यस महोत्सवले प्रदेशको आर्थिक तथा सांस्कृतिक गतिविधिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।


