धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र उम्मेदवारको चर्चा तीव्र हुन थालेको छ । यस क्षेत्रबाट नर बहादुर शाह (निर्मल) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने विषयले पार्टीभित्र प्राथमिकता पाउन थालेको छ । तत्कालीन नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रहिसकेका शाहलाई यस पटक प्रत्यक्ष निर्वाचनमा होम्ने गरी पार्टीले आन्तरिक तयारी थालेको पार्टी स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टी नेतृत्व तहमा शाहलाई उम्मेदवार बनाउने विषयमा छलफल चलिरहेको छ र उनलाई नै अघि सार्ने सम्भावना बलियो बन्दै गएको छ ।
शाह यसअघि सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष भएर समेत कार्य गरिसकेका व्यक्ति हुन् । अस्पतालको व्यवस्थापन, सेवा सुधार र स्वास्थ्य क्षेत्रको सुधारका लागि उनले निर्वाह गरेको भूमिकाका कारण उनी जनस्तरमा चिनिएका नेता मानिन्छन् । नेतृत्व क्षमता, निर्णय शक्ति र जनसम्पर्कका आधारमा शाहलाई प्रभावशाली उम्मेदवारको रूपमा हेरिएको छ । अछाम जिल्लामा पुख्र्यौली घर भएका शाह कैलालीमा लामो समयदेखि सक्रिय राजनीतिमा छन् । अछाम भूगोलका मतदातासँग राम्रो पकड बनाएका उनी कैलालीको थारु समुदाय तथा युवापुस्तामाझ पनि लोकप्रिय मानिन्छन् । विशेषगरी युवामैत्री सोच, विकासमुखी दृष्टिकोण र सामाजिक गतिविधिमा उनको सक्रियताका कारण उनी युवा मतदाताको रोजाइमा पर्न सक्ने विश्लेषण गरिएको छ ।
पार्टी स्रोतका अनुसार कैलाली–५ मा बलियो उम्मेदवारको खोजी भइरहेको अवस्थामा शाह सबैभन्दा उपयुक्त विकल्पका रूपमा अगाडि आएका हुन् । युवाशक्ति, संगठन निर्माणको अनुभव र जनतासँगको निकट सम्बन्धका कारण पार्टीले उनलाई उम्मेदवार बनाउने सम्भावना बढ्दै गएको छ । यद्यपि, उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको केन्द्रीय समिति तथा निर्वाचन समितिको निर्णयपछि मात्रै सार्वजनिक गरिने बताइएको छ । आगामी दिनमा पार्टीभित्रको आन्तरिक छलफल र रणनीतिसँगै शाहको उम्मेदवारी औपचारिक घोषणा हुने सम्भावना रहेको स्रोतको दाबी छ ।
कैलाली–५ मा विभिन्न दलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तो अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले नर बहादुर शाहलाई अघि सारेमा चुनावी समीकरण थप रोचक बन्ने देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।


