काठमाडौँ। नेकपा(एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको मंगलबारको बैठक सकिएको छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा नेताहरुबीच भएको असहमतिका विषयमा छलफल सुरु भएको थियो। सिंहदरबारमा बसेको बैठक बुधबार बिहान साढे ८ पुनः बस्ने गरी टुंगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।आजको बैठक सकियो। भोलि बिहान साढे ८ बजेदेखि फेरि बस्ने छ । सबै विवादका विषयमा छलफल भएको छ, नेता नेम्वाङले भने, विवादका विषयमा कार्यदलका सबै सदस्यले आफ्ना धारणा राख्नुभएको छ ।
नेता रघुजी पन्तले पनि विवादित विषयहरुमा बुँदागत छलफल भएको बताए । उनले संयुक्त वक्तव्य दिने विषयमा भने प्रवेश गरि नसकेको बताए । सोमबार सिंहदरबारमा नै बसेको बैठकमा पछिल्लो घटनाक्रमको सामान्य समीक्षा भए पनि नियमित एजेण्डामा प्रवेश गरेको थिएन ।जेठ पहिलो सातापछि निष्क्रियजस्तै कार्यदल सोमबार नै ब्युँतिएको छ । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधव नेपालकातर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।