डडेलधुरा— कुनै बेला दसैंतिहारमा गाउँभरि चहलपहल हुन्थ्यो। टाढाटाढाका घरमा आफन्त आउने, बालबालिका र युवायुवती जम्मा हुने र गाउँका बाटाघाटामा भेटघाट बाक्लिने गर्थ्यो। घरघरमा दसैंको तयारी हुन्थ्यो। गाउँमा बस्ने परिवार धेरै भएकाले चाडपर्वको रौनक पनि बेग्लै थियो। तर अहिले डडेलधुराको काफली गाउँमा त्यस्तो चहलपहल देखिँदैन। बसाइँसराइले गाउँका घर रित्तिँदै गएपछि दसैंतिहारको पुरानो रौनक पनि हराउँदै गएको छ।
डडेलधुरा सदरमुकामबाट पाँच वर्षअघिसम्म करिब आठ घण्टा पैदल हिँडेर पुग्नुपर्ने काफली गाउँमा अहिले बिस्तारै सडक र विद्युत् पुगेका छन्। गाउँनजिकै कच्ची सडक पुगेपछि आवतजावत केही सहज भएको छ। विद्युत् सुविधाले पनि गाउँको जनजीवनमा परिवर्तन ल्याएको छ। तर गाउँमा सुविधा थपिँदै जाँदा पनि यहाँ बस्ने मानिसको संख्या भने घट्दै गएको छ।
कुनै समय १७ परिवारको बसोबास रहेको काफली गाउँ अहिले ६ परिवारमा सीमित भएको छ। शिक्षा, स्वास्थ्यलगायत आधारभूत सुविधाको खोजीमा गाउँ छाडेका परिवार तराई तथा अन्य सहरी क्षेत्रमा बसाइँ सरेपछि गाउँमा मानिसको चहलपहल घटेको हो। खेतीयोग्य जमिन र पुर्ख्यौली घर छाडेर सहर पसेका परिवार फर्केर नआउँदा गाउँका धेरै घर सुनसान बनेका छन्।
गाउँमा सडक र बिजुली पुगे पनि बसाइँसराइ रोक्न सकेको छैन। बालबालिकाको पढाइ, सहज स्वास्थ्य सेवा र दैनिक जीवनयापनका लागि आवश्यक सुविधाको अभावले परिवारहरू गाउँ छाड्न बाध्य भएको स्थानीयको भनाइ छ। अर्कोतर्फ, खेतीपातीमा लगाएको बाली बाँदर तथा अन्य जंगली जनावरले नष्ट गर्ने समस्याले पनि गाउँमै बसेर जीविकोपार्जन गर्न कठिन भएको छ। खेतीयोग्य जमिन भएर पनि त्यसबाट पर्याप्त आम्दानी लिन नसक्दा धेरै परिवारले गाउँ छाड्ने निर्णय गरेका हुन्।
७० वर्षीया शान्ति भट्टलाई काफली गाउँमा दसैंतिहारको पुरानो रौनक अझै सम्झनामा ताजै छ। उनका अनुसार आठ–दस वर्षअघिसम्म गाउँमा चाडपर्वको समयमा छुट्टै उत्साह हुन्थ्यो। विद्यालय बिदा भएपछि विद्यार्थीहरू गाउँ फर्किन्थे। गाउँमा बस्ने परिवार धेरै भएकाले घरघरमा भेटघाट हुन्थ्यो। आफन्त र छरछिमेकीसँगको जमघटले दसैंको माहोल नै फरक बनाउँथ्यो।
‘उहिले दसैंतिहारमा गाउँमा छुट्टै रमाइलो हुन्थ्यो। विद्यालय बिदा भएपछि विद्यार्थीहरू पनि गाउँमै हुन्थे। घरपरिवार र छरछिमेकीको चहलपहलले गाउँ भरिभराउ हुन्थ्यो,’ भट्टले भने, ‘अहिले त बसाइँसराइले गाउँ नै रित्तियो।’
उनका अनुसार गाउँमा व्यवस्थित बसोबास र आवश्यक सुविधाको खोजीमा धेरै परिवार अन्यत्र गएका छन्। खेतीपाती गरेर परिवार पाल्न पनि सहज छैन। वर्षभरि मिहिनेत गरेर लगाएको बाली बाँदर तथा जंगली जनावरले खाइदिने समस्याले किसान निराश छन्। गाउँमै बसेर जीविकोपार्जन गर्न कठिन भएपछि धेरैले परिवारसहित बसाइँ सरेको उनले बताए। काफली गाउँको बदलिँदो अवस्था शान्ति भट्टको अनुभवमा मात्रै सीमित छैन। माइती गाउँ काफली आएकी धनगढी निवासी कलापती भट्टलाई पनि बाल्यकालको गाउँ र अहिलेको अवस्थाबीचको फरकले भावुक बनाउँछ। बालापनमा गाउँमा साथीभाइ र दौंतरीको कमी थिएन। चाडपर्वका बेला सबैजना जम्मा हुन्थे। गाउँका घरमा आफन्तको आउजाउ हुन्थ्यो। दसैं आउनुअघि नै भेटघाट र रमाइलोको प्रतीक्षा सुरु हुन्थ्यो।
अहिले माइती गाउँ आउँदा उनले त्यही पुरानो वातावरण भेट्दिनन्। बसाइँसराइका कारण धेरै घर खाली भएका छन्। बाल्यकालमा सँगै खेलेका र हुर्किएका साथीभाइमध्ये धेरै गाउँबाहिर छन्। गाउँमा रहेका परिवारको संख्या घटेसँगै चाडपर्वमा हुने जमघट पनि पातलिएको छ।
‘बाल्यकालमा गाउँमा धेरै साथीहरू थिए। दसैंमा सबैजना भेट हुँदा निकै रमाइलो हुन्थ्यो,’ कलापतीले भनिन्, ‘अहिले धेरै घर खाली छन्। गाउँमा उहिलेको जस्तो रमाइलो नै छैन।’ कुनै समय चाडपर्वमा भरिभराउ हुने बस्ती अहिले सीमित परिवारको भरमा छ। गाउँ छाडेर सहर पुगेका परिवारको सम्झनामा पुरानो काफली गाउँ अझै जीवन्त होला तर गाउँमै दसैं मनाउनेहरूका लागि त्यो रौनक विस्तारै विगतको सम्झनामा सीमित हुँदै गएको छ।कान्तिपुरबाट


