धनगढी: दशैँको टीका निधारमा अझै उस्तै छ। कानमा पहेँलो जमरा सुकिसकेको छैन। घरआँगनमा चाडपर्वको रौनक पनि सेलाउन पाएको छैन। परिवारसँग बसेर मीठोमसिनो खाने, दुःखसुख साट्ने र केही दिन भए पनि आफ्नै गाउँघरमा रमाउने रहर अझै अधुरै छ। तर, पेट पाल्नुपर्ने बाध्यता र रोजगारीको खोजीले धेरै नेपालीलाई चाडपर्वको खुसी बीचमै छाडेर फेरि परदेशको बाटो समात्न बाध्य बनाएको छ।
नेपालीहरूको महान् चाड बडादशैँ सकिन नपाउँदै कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारत जाने नेपालीहरूको लर्को लाग्न थालेको छ। दशैँ मनाउन बिदा मिलाएर घर फर्किएका नेपालीहरू केही दिन परिवारसँग बिताएपछि पुनः रोजगारीका लागि भारत जान थालेका हुन्। निधारमा रातो टीका, कानमा पहेँलो जमरा र मनभरि परिवारसँग छुट्टिनुपर्दाको पीडा बोकेर भारततर्फ लाग्ने नेपालीका दृश्यले स्वदेशमै रोजगारीको अभाव र परदेशिनुपर्ने बाध्यतालाई उजागर गरिरहेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिकाका शशीराम पनि दशैँ मनाउन छोटो बिदा लिएर घर फर्किनुभएको थियो। परिवारसँगै बसेर चाडपर्व मनाउने र आफन्तसँग भेटघाट गर्ने उहाँको रहर थियो। वर्षभरि कामको सिलसिलामा घरबाहिर रहनुपर्ने भएकाले चाडपर्वका केही दिन परिवारसँग बिताउन पाउनु उहाँका लागि खुसीको अवसर थियो। तर, बिदाको समय सकिएसँगै उहाँ फेरि रोजगारीका लागि भारततर्फ लाग्नुभएको छ।
घरमा परिवार छाडेर परदेश जानुपर्दा मन भारी भए पनि रोजगारीको विकल्प नहुँदा फर्किनुको विकल्प नरहेको उहाँजस्ता धेरै नेपालीको बाध्यता छ। परिवारसँगै बसेर जीवन बिताउने रहर एकातिर छ भने घरखर्च चलाउन र परिवारको आवश्यकता पूरा गर्नुपर्ने जिम्मेवारी अर्कोतिर।
त्रिनगर नाकामा भेटिनुभएका मानबहादुर रमेनी पनि नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा भारतीय श्रम बजारमा निर्भर हुनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ। आफ्ना छोराछोरीसँगै बस्ने, वृद्ध आमाबुबाको हेरचाह गर्ने र चाडपर्वमा परिवारसँग रमाउने चाहना सबैको हुने भए पनि आर्थिक अभाव र बेरोजगारीले त्यो चाहना पूरा गर्न कठिन बनाएको उहाँको भनाइ छ।
उहाँका अनुसार स्वदेशमै काम गर्ने अवसर र परिवारको जीविकोपार्जनका लागि पर्याप्त आम्दानी हुने अवस्था भए धेरै नेपाली भारत जानुपर्ने थिएन। तर, घरपरिवारको खर्च धान्नुपर्ने जिम्मेवारीले चाहेर पनि आफ्नै देशमा बस्न सक्ने अवस्था नरहेको उहाँहरूको गुनासो छ।
चाडपर्वमा भरिने गाउँ, फेरि सुनसान
दशैँका बेला भारतबाट घर फर्किएका नेपालीका कारण सुदूरपश्चिमका गाउँघरमा चहलपहल बढेको थियो। रोजगारीको खोजीमा वर्षभरि भारतका विभिन्न सहरमा बस्ने नेपालीहरू चाडपर्व मनाउन घर फर्किएपछि सुनसान बनेका आँगनमा खुसी छाएको थियो। परिवारका सदस्य एकै ठाउँमा भेला भएका थिए। घरघरमा टीका लगाउने, जमरा राख्ने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने क्रम चलिरहेको थियो।
परदेशमा रहेका आफन्त घर फर्किएपछि परिवारमा देखिएको खुसी लामो समय टिक्न सकेन। चाडपर्व मनाउन आएका उनीहरू पुनः भारत फर्किन थालेसँगै गाउँघरका आँगन फेरि सुनसान बन्न थालेका छन्। केही दिनअघि आफन्तको आगमनले भरिभराउ भएका घरमा अहिले बिदाइको पीडा छाएको छ।
परिवारसँग छुट्टिने बेला निधारमा सजिएको टीका र कानमा लगाइएको जमराले पनि उनीहरूलाई घरमै रोकिन सकेन। रोजगारी र आर्थिक सुरक्षाको खोजीमा निस्कनुपर्ने बाध्यताले चाडपर्वको खुसीलाई समेत छोटो बनाइदिएको छ।
यो दृश्य सुदूरपश्चिमका लागि नयाँ भने होइन। वर्षौंदेखि यहाँका हजारौँ नागरिक रोजगारीका लागि भारतका विभिन्न सहर जाने गरेका छन्। दशैँ, तिहारलगायतका चाडपर्वमा घर फर्किने र चाड सकिएपछि फेरि काममा फर्किने क्रम हरेक वर्ष दोहोरिने गरेको छ। कतिपय परिवारका लागि त यो जीवनशैली नै बनिसकेको छ।
त्रिनगर नाकाबाट भारत जानेको लर्को
कैलालीको त्रिनगर नाका सुदूरपश्चिमका नागरिक भारत आवतजावत गर्ने प्रमुख नाकामध्ये एक हो। यस नाकाबाट सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका साथै लुम्बिनी र कर्णाली प्रदेशका नागरिकसमेत रोजगारीका लागि भारत जाने गरेका छन्।
दशैँ मनाउन घर फर्किएकाहरू पुनः काममा फर्किन थालेपछि नाकामा यात्रुको चहलपहल बढेको छ। उपलब्ध तथ्यांकअनुसार शनिबार मात्रै त्रिनगर नाकाबाट करिब दुई हजारभन्दा बढी नेपाली भारत गएको देखिएको छ। यसले चाडपर्वपछि रोजगारीका लागि भारत फर्किने नेपालीको संख्या उल्लेख्य रहेको देखाउँछ।
भारत जानेमध्ये धेरैजसो दैनिक ज्यालादारी, निर्माण, होटल, उद्योग तथा अन्य श्रम क्षेत्रमा काम गर्ने नेपाली छन्। उनीहरूले त्यहाँ गर्ने श्रमबाट प्राप्त आम्दानीले घरपरिवारको खर्च, छोराछोरीको पढाइ, उपचार र अन्य आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने गरेको छ।
यद्यपि, भारतमा काम गर्न जाने नेपालीले कस्तो रोजगारी पाउने, कति पारिश्रमिक प्राप्त गर्ने र काम गर्ने स्थानमा कस्तो सुविधा पाउने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। रोजगारीका लागि घर छाड्नुपर्ने बाध्यतासँगै श्रमिकको सुरक्षा, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रश्नसमेत जोडिएको छ।
स्वदेशमै रोजगारीको अवसर कहिलेर?
नेपालमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा ठूलो संख्यामा नागरिक वैदेशिक श्रम बजारमा निर्भर हुनुपरेको छ। सुदूरपश्चिमका ग्रामीण क्षेत्रका नागरिकका लागि यो समस्या अझै चुनौतीपूर्ण छ। स्थानीयस्तरमा नियमित आम्दानी हुने काम नपाउँदा परिवारको जीविकोपार्जनका लागि भारत जानुपर्ने बाध्यता कायम छ।
भारतमा काम गरेर कमाएको रकमले परिवारको खर्च चलाउन सहयोग पुगे पनि त्यसको सामाजिक मूल्य कम छैन। परिवारका सदस्य लामो समयसम्म छुट्टिएर बस्नुपर्ने, बालबालिकाले अभिभावकको साथ कम पाउने र वृद्धवृद्धाको हेरचाहमा समस्या हुनेजस्ता चुनौती पनि यससँग जोडिएका छन्।
चाडपर्वका बेला घर फर्किने र केही दिनपछि पुनः परदेशिने क्रमले रोजगारीको अभावले नेपाली परिवारमा पारेको प्रभावलाई प्रस्ट पार्छ। आफ्नै देशमा श्रम गर्ने अवसर नपाउँदा परिवारसँगै बस्ने सामान्य चाहना पूरा गर्नसमेत कठिन भइरहेको छ।
स्थानीयस्तरमा कृषि, उद्योग, पर्यटन, निर्माण र सेवा क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्न सके भारत जाने बाध्यता कम गर्न सकिने अपेक्षा गरिएको छ। तर, रोजगारी सिर्जना गर्ने नीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा श्रम पलायनको समस्या कायमै छ।
दशैँको टीका लगाएर भारततर्फ लागिरहेका नेपालीका पाइला केवल रोजगारीको खोजीमा अघि बढेका पाइला मात्रै होइनन्। ती पाइला परिवारको भविष्य सुरक्षित बनाउने आशा, आर्थिक अभावसँग जुध्ने संघर्ष र आफ्नै देशमा अवसर नपाउँदाको बाध्यताका प्रतीक पनि हुन्।
चाडपर्वमा घर फर्किने र चाड सकिएपछि फेरि भारत पस्ने यो क्रम कहिलेसम्म चलिरहने होरु आफ्नै देशमा श्रम गरेर परिवारसँगै बस्न पाउने वातावरण कहिले बन्ने होरु यी प्रश्नको जवाफ रोजगारीको खोजीमा जन्मभूमि छाडिरहेका हजारौँ नेपालीले पर्खिरहेका छन्।


