धनगढी । कैलालीको धनगढीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आइतबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो । अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको बा.प्र.०२–०६७ प ०६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको लु.प्र.०१–०१४ प २०४२ नम्बरको मोटरसाइकलमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पहिलो मोटरसाइकलका चालक कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २५ वर्षीय गोकुल बिष्ट, पछाडि सवार डोटीको जोरायल गाउँपालिका–३ बस्ने २० वर्षीय बिप्लब साउद र रोकिराखेको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय हेमराज अवस्थी घाइते भएका छन् ।
प्रहरीका अनुसार गोकुलको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ भने बिप्लबको टाउको र घाँटीमा चोट लागेको छ । त्यस्तै, हेमराजको टाउको र ढाडमा चोट लागेको छ । गोकुल र हेमराजको अवस्था सामान्य रहेको छ भने बिप्लबको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
तीनै जना घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका क्रममा सडक छेउमा पार्किङ गरी राखिएको सु.प.प्र.०१–००१ ह ७७३५ नम्बरको अटोमा समेत क्षति पुगेको छ । घटनापछि प्रहरीले दुवै मोटरसाइकल र अटोलाई नियन्त्रणमा लिएको कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


