धनगढी । कैलालीको धनगढीमा आयोजित दोस्रो नगरस्तरीय जनकल्याण डोजाङ विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। असोज २४ गतेदेखि सुरु भएको प्रतियोगिता धनगढी उपमहानगरपालिका–१२ स्थित वडा कार्यालयअगाडि सम्पन्न भएको हो। जनकल्याण डोजाङको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै एभिएन तेक्वान्दो डोजाङ विजेता बनेको छ। यस्तै, चार स्वर्ण पदकसहित फुलबारी तेक्वान्दो डोजाङ दोस्रो र चार स्वर्ण पदकसहित आयोजक जनकल्याण डोजाङ तेस्रो भएको छ।
विद्यालयस्तरका खेलाडीको प्रतिभा पहिचान, खेलकुदप्रतिको आकर्षण वृद्धि र तेक्वान्दो खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनकल्याण डोजाङका प्रमुख वीरबहादुर ढाँडले बताए। उनले प्रतियोगिताले बालबालिका तथा विद्यार्थीमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गर्न सहयोग पुग्ने बताए। स्थानीयस्तरमा तेक्वान्दो खेलको प्रवर्द्धन गर्न र प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्न प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष प्रमुख अतिथि रहेका थिए भने धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष शेरबहादुर महरा विशिष्ट अतिथि थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष महराले प्रतियोगिता सञ्चालनका लागि वडा कार्यालयका तर्फबाट आवश्यक सहयोग गरिएको बताए। खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगितालाई प्रोत्साहन गर्नुपर्ने उनले उल्लेख गरे।
समापन कार्यक्रममा डोजाङका संस्थापक प्रशिक्षक गोविन्द बिष्ट, कैलाली क्षेत्र नम्बर ५ का सांसद आनन्द चन्दका क्षेत्रीय प्रमुख पारस बमलगायतको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय विद्यालयस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै धनगढीमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


